कर्णाली, फागुन ८ गते । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउने बताउनुभएको छ ।
प्रदेश निर्वाचन सुरक्षा समितिको आज जिल्ला प्रशासन कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा सचिव राउतले विशिष्ट अवस्थामा हुन लागेको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने यहाँका कर्मचारीको भत्ता, ढुवानी र हेलिकप्टरको खर्च पठाइ सकिएको छ । आवश्यकतामा आयोगले थप काम गर्दै जानेछ ।”
फागुन १० गतेदेखि मसान्तसम्मको मौसम अनुमान गरेर पठाउन जल तथा मौसम विज्ञान विभागलाई अनुरोध गरिएको बताउँदै उहाँले यहाँका उच्च हिमाली जिल्लाको निर्वाचनका लागि हुम्ला, मुगु र डोल्पामा फागुन ९, १० र ११ गतेभित्र मतपत्र पठाउने तयारी भइरहेको बताउनुभयो ।
तीन हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्य नजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको सचिव राउतको भनाइ थियो ।







