२०८३ जेठ २० , बुधबार

निर्वाचन स्वच्छताका लागि आचारसंहिता पालना गर्न आग्रह



 

दैलेख ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै पक्षले आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डे आग्रह गर्नुभएको छ । उहाँले दैलेख सदरमुकाममा प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखको समन्वयमा निर्वाचन आचारसंहिता र मिडिया रिपोर्टिङ विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन सफलतापुर्वक सम्पन्न गराउन सबैले आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । उहाँले समाजमा भ्रम फैलाउने गतिविधिविरुद्ध पत्रकारिताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै प्रमुख जिल्ला अधिकारी आनन्द सारुले निर्वाचनको बेला विभिन्न खालका भ्रमित र मिथ्या सूचनाहरू धेरै फैलिने भएकाले त्यसलाई चिर्न र सत्यतथ्य बाहिर ल्याउन सञ्चार माध्यमले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।उहाँले निर्वाचन आचारसंहिताले तोकेको मापदण्ड पूर्ण रूपले पालना गर्नुपर्ने बताउनुभयो ।

 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले सोसल मिडियाले पछिल्लो समय व्यावसायिक पत्रकारिता गर्नेहरूका लागि चुनौती थपेको बताउनुभयो। उहाँले व्यावसायिक पत्रकारले भन्दा पनि अन्य व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम छर्ने भएकाले पत्रकारहरूले त्यसको सामना गर्दै नागरिकलाई सही सूचना दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालकी सदस्य निमा काफ्लेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन सुरक्षा, सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबैको जिम्मेवारी रहने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अम्मर सुनारको निर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न पत्रकारको पनि महत्वपुर्ण भूमिका रहने बताउनुभयो । उहाँले पत्रकारले निर्वाचन आचारसंहिता पालना गरेर काम गुर्नपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार
प्रतिक्रिया