यामराज बिष्ट
दैलेख।यही फागुन२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । जिल्लामा उम्मेदवारले आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् ।
दैलेखको नारायण नगरपालिका–१ स्थित गणेशचोक नजिकै २०६० साल देखि अस्थायी बसोबास गर्दै आएका नमुना बस्तीका बादी समुदायले लालपुर्जाको विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाएका छन् । उनीहरुले निर्वाचनको मिति नजिकिएसँगै लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।
वर्षौंदेखि जमिन र लालपुर्जाको आश देखाएर मत मागेर नेताहरूले ठग्ने गरेको नमुना बस्तीका कमला नेपालीले गुनासो गुर्नभयो । उहाँले चुनावको बेला मात्र घरदैलोमा पुगेर नेताहरूले लालपुर्जा दिन्छौं भन्छन् तर चुनाव जितेर गएपछि फर्केर पनि आउँदैनन् गुनासो गर्नुभयो ।उहाँले पछिल्लो समयमा बर्षेनी पर्ने अबिरल वर्षाका कारण भिरालो जमिनमा निर्माण गरिएका कच्ची घरटहरा भत्किने डरले रहेको बताउनुभयो । उहाँले सुरक्षित बासको दिगो व्यवस्थापन गरिनुका साथै सुरक्षित वासस्थानको व्यवस्थापन गरिदिनु पर्ने माग गर्नुभयो ।
यस्तै पुस्तौँदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा चिन्ता बढेको दुर्गा बादीले बताउनुभयो । उहाँले लालपुर्जा नहुँदा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आबद्ध हुन अनुदान प्राप्त गर्न लगायत अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको बताउनुभयो । उहाँले यो ठाउँ भिरालो र पहिरो आइरहने भएकाले जोखिम बढिरहेको भन्दै लालपुर्जा दिनेलाई मत दिने बताउनुभयो । उहाँले यसको दिगो व्यवस्थापन गरिनुका साथै सुरक्षित वासस्थानको व्यवस्थापन गरिदिनपर्ने बताउनुभयो ।
लामो समय बस्दा पनि हामीले लालपूर्जा नभएकाले यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरूलाई त्यसको व्यवस्था गर्नुपर्ने नमुना बस्तीका मनु नेपाली बताउनुभयो । उहाँले लालपुर्जा पाउने सपना सपनामै सीमित भएको बताउनुभयो । उहाँले वर्षौँदेखि जोखिम मोलेर नमुना बस्तीका बादी समुदाय बिहान देखि साझ सम्म काम गरेर जीविका चलाउँदै आएका आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग राख्नुभयो ।
करीब ७०घर बढी घरधुरी नमुना बस्तीमा रोजगारी,शिक्षा, स्वास्थ्य खानेपानी लगायतका समस्या त्यतिकै रहेको नमुना बस्तीमा १सय५०हाराहारीमा मतदाता रहेका छन् ।
दैलेख जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार







