
दैलेख । दैलेख क्षेत्र नं १ का उम्मेदवारहरूसँग गरिएको प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ।यही फागुन२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दैलेख जेसीजले दैलेख सदरमुकाममा दैलेख निर्वाचन क्षेत्र नं। १ का उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद गरेको हो ।
सदरमुकाममा भएको प्रत्यक्ष संवाद कार्यक्रममा नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी,नेपाल मजदुर किसान पार्टी,आम जनता पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मा नेकपा माओवादीका उम्मेदवार रामलाल विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका जगतबहादुर ओली, आम जनता पार्टीका उम्मेदवार मेनका श्रेष्ठ र स्वतन्त्र उम्मेदवार लोकबहादुर बोगटी प्रत्यक्ष संवाद मा सहभागी भएका थिए ।
उम्मेदवारहरूले आफ्नो चुनावी एजेन्डा, विकास दृष्टिकोण, रोजगारी सृजना, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधार र सुशासनप्रतिको प्रतिबद्धता सार्वजनिक गरेका थिए । सहभागी युवाहरू तथा सरोकारवालाहरूले उम्मेदवारहरूलाई प्रत्यक्ष प्रश्न गर्दै जिल्लाको समग्र विकास, भ्रष्टाचार नियन्त्रण, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन लगायत विषयमा स्पष्ट धारणा माग गरेका थिए ।







