
यामराज बिष्ट
दैलेख । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी बालबालिकालाई प्रयोग हुन नदिन आचारसंहिता कडाइका साथ लागू गर्न माग गरिएको छ । दैलेख सदरमुकाममा सिसिआर कर्णालीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विशेषगरी निर्वाचन प्रचारप्रसार र राजनीतिक गतिविधिमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग सहभागीले कडाइका साथ लागू गर्नुपर्ने बताएका हुन् ।
यही फागुन २१ गते हुने निर्वाचन अवधिधर बालबालिकाको प्रयोग बालअधिकारविपरीत हुने सेतो गुराँस बालविकास सेवा,दैलेखकी निर्देशक राधा मल्लले उल्लेख गर्नुभयो । उहाँले निर्वाचन संग जोडिएका गतिविधिमा बालबालिकालाई प्रयोग रोक्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका कार्यालय सचिब यामनाराय उपाध्यापले यस्ता खाले कार्यक्रमले निर्वाचनको समयमा सचेतना फैलाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले भविष्यका कर्णाधारहरुलाई चुनावी प्रयोजनमा प्रयोग गरिनु गलत भएकोले सबैजनाले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आर्चायले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्न विशेष आग्रह गर्नुभयो । उहाँले निर्वाचनको समयमा बालबालिकाको दुरुपयोग रोक्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई जुलुस, ¥याली, प्रचारप्रसार, पर्चा–पोस्टर टाँस्ने वा बोक्नेजस्ता कार्यमा सबैले खबदारी गर्नुपर्ने बताउनुभयो ।
यस्तै जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले राजनीतिक दल र उम्मेदवारहरुका कार्यक्रमहरुमा बालबालिका दुरुपयोग रोकथाम विषयमा नागरिक समाज र सरकारका निकायहरुले निगरानी बढाउने बताउनुभयो । उहाँले निर्वाचनमा दलहरूले बालबालिका प्रयोग गर्दै आएका घटना सार्वजनिक भएको सबैले खबदारी गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अन्तरक्रियाको क्रममा बालअधिकारकर्मी टेकराज आचार्यले विद्यालय शान्तिक्षेत्र अवधारणा, कार्यान्वयन निर्देशिका २०६८ र निर्वाचन आचार सहिंता २०८२ को परिच्छेद २ ले बालबालिकाको दुरुपयोग रोकथाम सम्बन्धी व्यवस्था जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी नागरिक समाज, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाली कम्युनिस्ट पाटी, राप्रपा नेपाल लगायतका दलहरूले निर्वाचनमा बालबालिका प्रयोग नगर्ने र विद्यालय शान्ति क्षेत्रको पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।







