
यामराज बिष्ट
दैलेख ।जिल्ला निर्वाचन कार्यालय दैलेखले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको दैलेख जिल्लामा खटिन छनोट हुनुभएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि दैलेख दोणाचल क्याप्पस दूल्लुमा र नारायण बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका १ सय ४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत निर्वाचन क्षेत्र नं १ मा १०६ मतदान केन्द्र निर्वाचनका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । उहाँले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
यसैगरी तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताउनुभयो । उहाँले जिल्लामा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउँदै सफल बनाउन सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो । न्यायाधीश पाण्डेले भन्नुभयो, ‘‘निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण ,पारदर्शी, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको सहयोगको आवश्यक हुन्छ ।’’
मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम सहभागी अधिकृतहरूले तालिमले आफ्नो जिम्मेवारीप्रति थप स्पष्टता र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर २सय१०जना मतदान अधिकृत २सय १० जना नै सहायक मतदान अधिकृत खटाइएको छ ।दैलेख निर्वाचन क्षेत्र नं १ मा ७३ स्थानमा १०६ मतदान केन्द्र निर्वाचन क्षेत्र नं २ मा ६६ मतदान स्थलमा १०४ मतदान केन्द्र रहेको छ ।







