
दैलेख । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दैलेख जिल्लामा मतदान केन्द्र तयार पार्ने काम भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीले मतदान केन्द्र तयार पारेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीहरूले कार्यस्थल व्यवस्थापन र बुथ निर्माण गरिरहेका छन् ।स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायत तयार गरिरहेका छन्।
निर्वाचनका लागि कर्मचारी देखि लिएर सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन भई सकेको निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर २सय१०जना मतदान अधिकृत २सय १० जना नै सहायक मतदान अधिकृत खटाइएको छ ।
दैलेख निर्वाचन क्षेत्र नं १ मा ७३ स्थानमा १०६ मतदान केन्द्र निर्वाचन क्षेत्र नं २ मा ६६ मतदान स्थलमा १०४ मतदान केन्द्र रहेको छ । दैलेख जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।







