२०८३ जेठ १९ , मंगलबार

दैलेखमा मनाइयो महाकवि लक्ष्मी जयन्ती




दैलेख – दैलेखमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइएको छ ।कला साहित्य प्रतिष्ठान दैलेखको आयोजनामा दैलेख सदरमुकामको देवकोटाचोकस्थित देवकोटाको शालिकमा सोमबार पुष्पगुच्छा अर्पण र कविता वाचन गरेर लक्ष्मी जयन्ती मनाइएको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशका लागि योगदान गरेका कारण देवकोटा महाकविको सम्मान पाएका बताउनुभयो । नेपाली साहित्यलाई अन्तरराष्ट्रिय जगत चिनाउने सुरुवात गरेका देवकोटाप्रति समर्पण गर्दै प्रमुख जिल्ला अधिकारी गैह्रेले आफैले रचना गरेको अनौठो सपना कविता वाचन समेत गर्नुभएको थियो ।

कार्यक्रममा नागरिक समाजका अगुवा अधिवक्ता खड्गबहादुर सिजापतिले साहित्यकारहरु सच्चा देशभक्त र परिवर्तनका वाहक भएको बताउनुभयो । कला साहित्य प्रतिष्ठान दैलेखका अध्यक्ष कृष्ण देवकोटाले महाकविका कविताहरु र गजलकार बबिता बिष्टले पनि आफ्नो रचना वाचन गर्नुभएको थियो ।

महाकवि देवकोटाको जन्म वि।सं। १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक ४ गते मंगलबार
प्रतिक्रिया