२०८३ साउन १२ , मंगलबार

सिकाइमा प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम



 


यामराज बिष्ट
दैलेख। पछिल्लो समयमा दैलेख जिल्लाका समुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालयमा उपस्थित नहुने बालबालिका नियमित सहभागी हुन थालेपछि आएपछि पछिल्लो समयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
हरेक दिन फरक फरक खाजा खान पाउने भएपछि जिल्लामा दिवा खाजा कार्यक्रमले विद्यार्थी आकर्षित गर्न सफल भएको हो । विद्यालयभित्र जङ्कफूड निषेध गर्ने,दिवाखाजा लागू भएपछि टिफिन समयमा भागेर घर र्फकने विद्यार्थी पनि निरन्तर विद्यालयमा अध्ययन गर्न थालेका छन् ।

दिवा खाजा कार्यक्रमका कारण विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने गरेको डुवेश्वर गाँउपालिका –१ त्रिवेणी संगम मावि चुप्पाका प्रधानाध्यापक तेज बहादुर विकले बताउनुभयो । उहाँले विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पु¥याएको बताउनुभयो ।उहाँले विद्यालयमा चना, अण्डा, हलुवा, मासु, समोसा, खिचडी, जस्ता खानेकुराको तालिका बनाएर हप्ताको ६ दिन खुवाउने गरेको बताउनुभयो ।
नेपाल सरकारले बालविकासदेखि ५ कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेका कारण जिल्लामा बाल कक्षादेखि ५सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रतिविद्यार्थी २० रुपैयाँका दरले विद्यालयमा रकम निकासा हुने गरेको छ ।

स्वस्थ खानाले बालबालिकाको स्वास्थ्यमा राम्रो प्रभाव पारेको स्थानिय बिक्रम बिष्टको भनाइ छ । विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वास्थ्य भई शिक्षण सिकाइमा सक्रिय रुपमा विद्यालयमा बालबालिका जाने गरेको बताउनुभयो ।

यस्तै विद्यालयमा दिवा खाजाकै कारण पढाइमा समेत सुधार हुन थालेको रैनादवि माध्यमिक विद्यालय टाटामाखुका प्रधानध्यापक कृष्णबहादुर चनको भनाइ छ । उहाँले भन्नुभयो ‘‘दिवा खाजा कार्यक्रमले बालबालिकालाई समेत विद्यालयमा आउन उत्प्रेरित गरेको छ । उहाँले यस्ता खाले कार्यक्रमले शैक्षिक गुणस्तर कायम गर्न निकै सघाउन पुगेको बताउनुभयो ।दैलेख जिल्लाका ४सय६९वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार
प्रतिक्रिया