
दैलेख । विद्युत खपत बढाउन र घरायसी काममा ग्यासको प्रयोग घटाउने उदेश्यले नारायण नगरपालिका ६नं वडा कार्यालयले विद्युतीय इन्डक्सन चुलो, प्रेसर कुकुर, र कडाइ वितरण गरेको छ । पहिलो चरणमा बिजाैरा टोल, नयाँ गाउँ टोलमा गरी करिब १सय१२ विद्युतीय चुलो वितरण गरेको हो ।
वडा कार्यालयले सबै वडाका सबै उपभोक्तालाई विद्युतिय चुलो वितरण गर्ने योजना राखेको नारायण नगरपालिका- ६का वडाध्यक्ष जनकप्रसाद न्यौपानेले बताउनुभयो । पछिल्लो समय देखिएको ग्यास अभावको समस्याबाट प्रभावित नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । देश बाहिर जाने अत्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई वडाले जोड दिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
विद्युतीय इन्डक्सन चुलो प्रयोगले अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने लगायतका कारणले पछिल्लो समयमा विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण बढेको हो। विद्युतिय चुलो पाएपछि उपभोक्ताहरू खुसी देखिएका छन् ।







