
यामराज, बिष्ट दैलेख । दैलेखको दुल्लु नगरपालिका–९, पादुका १९वर्षीय वसन्त सुनार सामाजिक सञ्जालमा चर्चामा आउनुभएको छ । घरको आर्थिक समस्यासँग सङ्घर्ष गर्दै निर्वाचन प्रहरी बनेका सुनार सामाजिक सञ्जालमार्फत आफ्नो कला प्रस्तुत गरेपछि भाइरल हुनुभएको हो ।
निर्वाचन प्रहरी भएर सेवा गरी घर फर्किएका उहाँ सानैदेखि घरको अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले घरमा बसेर दुःख गरेका अहिले धेरै युवाका लागि प्रेरणा स्रोत बन्नुभएको हो । सामाजिक सञ्जाल फेसबुक देखि टिकटकमा ‘टाइगर ब्रो’ नामले परिचित वसन्त हास्यकलाकारको शैलीमा प्रस्तुति दिनुहुन्छ ।
चामुण्डा विन्द्रासैनी नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालयबाट चैत १९ देखि सञ्चालन हुने एसइई दिने तयारीमा रहनुभएका उहाँले समयको सदुपयोग, घरको आर्थिक समस्याका कारण निर्वाचन प्रहरी भएको बताउनुभयो । उहाँले छोटो समय भए पनि देश र जनताको सेवा गर्ने मौका पाएको बताउनुभयो । घरको आर्थिक समस्याका कारण परिवारको जिम्मेवारी समाल्नुपर्ने बाध्यता भएपछि उहाँ गत फागुन २१ को निर्वाचनका लागि निर्वाचन प्रहरी बन्ने निर्णय गरेको उहाँले बताउनुभयो । वसन्त भन्नुहुन्छ, “परिवारको जिम्मेवारी बोकेर केही दिन भए पनि निर्वाचन प्रहरी बन्ने रहर पलायो । त्यसैले निर्वाचनप्रहरी भएँ ।”
उहाँलाई अब बन्ने सरकारले उनी जस्ता युवालाई आफ्नै देशमा रोजगारी दिने विश्वास छ ।” निर्वाचन प्रहरी भएर मतदान केन्द्रमा सुरक्षा जिम्मेवारी निर्वाह गर्दै हास्यव्यङ्ग्य शैलीमा जनचेतनामूलक सन्देश दिइएका उहाँका भिडियो टिकटक र फेसबुकमा लाखौँ दर्शकले हेरेका छन् ।








