जाजरकोट। राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय उपाध्यक्ष तथा पूर्व सांसद गोविन्दविक्रम शाहको निधन भएको छ । भेरी नगरपालिका(३, माथिल्लो थाप्ले निवासी ६७ वर्षीय गोविन्दविक्रम शाहको उपचारका क्रममा बुधबार बिहान जाजरकोट अस्पतालमा निधन भएको हो ।
केही वर्षदेखि पार्किन्सन रोगले थला पर्नुभएको थियो ।जाजरकोटको राजनीति र विकासलाई सर्वोपरि ठान्ने जनताको सुख दुःखमा साथ दिँदै आउनुभएका शाहको मृत्युले एक कर्मठ निडर राजनीतिज्ञ गुमाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति यात्रा सुरु गर्नुभएका शाह २०४९ मा सम्पन्न निर्वाचनबाट जिल्ला विकास समितिको सभापतिमा निर्वाचित हुनुभएको थियो ।
त्यतिबेला आफूसँग बहुमत नभएपनि इमानदारी पूर्वक सभापतिको भूमिका गर्नु भएको थियो ।सङ्घीयता अघि दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोट क्षेत्र नम्बर १ बाट २०५६ भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको थियो । सङ्गठन कमजोर भएपनि जनताको मनमुटुमा बस्न सफल भएका शाहले राष्ट्रिय राजनीतिमा पुग्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पाटीको केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा रहेका उहाँ आग्रह पूर्वाग्रह नराखी जाजरकोटको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।







