२०८३ जेठ १९ , मंगलबार

बाटोमै उपचार, दैलेख अस्पतालको टोलीले बचायो घाइतेको ज्यान



 

दैलेख । दैलेखमा स्वास्थ्यकर्मीको तत्परता, साहस र मानवीय संवेदनशीलताले फेरि एकपटक सेवा नै धर्म हो भन्ने सन्देश व्यवहारमै देखाएको छ।बुधबार दिउँसो आठबीस नगरपालिका–७ तिलेपाटाका २७ वर्षीय जीवन चन्द आफ्नै गाउँमा सामान्य  विवादको शिकार बन्नुभयो।

विवाद चर्किँदै जाँदा एक साथीसँगको झगडाले उग्र रूप लियो र धारिलो हतियार प्रहार हुँदा चन्द गम्भीर घाइते हुनुभयो। उहाँको देब्रे हातको नाडी झण्डै पूर्ण रूपमा छिनालिने अवस्थामा पुगेको थियो।रगत बगिरहेको अवस्थामा उहाँलाई तत्कालै एम्बुलेन्स मार्फत दैलेख अस्पतालतर्फ ल्याइँदै थियो। तर अवस्था अत्यन्त नाजुक थियो—एकछिनको ढिलाइले ज्यानै जान सक्ने खतरा थियो।

यही बीचमा घाइतेको अवस्थाबारे सूचना पाएपछि दैलेख अस्पतालका इञ्चार्ज डा. मनोज बिश्वकर्माको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले सात्तलाको पुलबजारसम्म पुगेर बाटोमै गुडिरहेको एम्बुलेन्स रोकेर उपचार सुरु गर्‍यो। सीमित साधन र समयको चापबीच एम्बुलेन्सभित्रै गरिएको  थियो।
डा. बिश्वकर्माका अनुसार त्यो क्षण निकै संवेदनशील थियो। “रगत धेरै बगिरहेको थियो, अवस्था गम्भीर थियो। हामीले तुरुन्तै नियन्त्रण नगरेको भए अवस्था झन् जटिल हुन सक्थ्यो ।”

स्वास्थ्यकर्मीहरूको तीव्र प्रयासपछि रगत बग्ने दर नियन्त्रणमा आयो र बिरामीको अवस्था स्थिर बनाइयो। त्यसपछि उहाँलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत रिफर गरियो।

यो घटनाले अर्को महत्वपूर्ण पक्ष पनि उजागर गरेको छ—समयमै उपचार र स्वास्थ्यकर्मीको भूमिकाले सरकारी अस्पतालप्रति हाम्रो विश्वास अझ बलियो भएको छ। यस्ता उदाहरणका बाबजुद जिल्लाका स्वास्थ्य संस्थाहरू विभिन्न चुनौतीसँग जुधिरहेका छन्। पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको अभाव अझै पनि प्रमुख समस्या बनेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
“यदि स्रोतसाधन पर्याप्त भएको भए हामी अझ प्रभावकारी सेवा दिन सकिने स्वास्थ्यकर्मीले बताउँछन्।दैलेख अस्पतालको टोलीले देखाएको यो तत्परता र मानवताले स्वास्थ्य सेवाप्रति आम नागरिकको विश्वास अझ बलियो बनाएको छ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार
प्रतिक्रिया