
यामराज बिष्ट
दैलेख। दैलेखमा शुक्रबार बेलुका परेको असिना पानीले जिल्लाका विभिन्न स्थानमा लगाइएका हिउँदे बालीमा ठूलो क्षति पु¥याएको छ । बेमौसमी वर्षासँगै परेको असिनाले किसानहरूले मेहनत गरेर लगाएको बालीमा नोक्सानी पु¥याएपछि किसान चिन्तित बनेका छन्।
जिल्लाका नौमुले गाउँपालिका,ठाटिकाँध गाउँपालिका तथा चामुण्डाबिन्द्रासैनि नगरपालिकाका लगायतका बिभिन्न क्षेत्रमा असिनाले खेतीबालीमा उल्लेख्य क्षति पु¥याएको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार असिना पानिले गहुँ, तोरी ,तरकारी तथा विभिन्न फलफूल बालीमा समेत असर पु¥याएको छ ।कार्यालय पाण्डेले भन्नुभयो, “असिनाका कारण धेरै स्थानमा बाली ढलेको र नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। जिल्लाका अन्य क्षेत्रबाट पनि क्षतिको विवरण संकलन भइरहेको छ।”

असिना परेपछि लगाइएको गहुँ बाली ढल्ने, दाना झर्ने तथा बोटमै नष्ट हुने समस्या देखिएको चामुण्डाबिन्द्रासैनि नगरपालिका–१ का किसान डम्बर पौड्यालले बताउनुभयो । चामुण्डाका १, २ र ३वडामा गहुँसँगै आलु र लसुन बालीमा पुर्या रुपमा क्षति पुगेको उहाँले बताउनुभयो। कृषक पौड्याले भन्नुभयो, “गहुँ पाक्ने बेला थियो, असिनाले धेरै बाली बिगारिदियो ,अब घरमा के खाने भन्ने चिन्ता छ।” उहाँले सागसब्जी र साना बिरुवाका तरकारी बालीमा पनि क्षति केही स्थानमा असिनाले बोटमै फूल र दाना झारिदिएको बताउनुभयो । कृषि क्षेत्रमा निर्भर किसानका लागि यस्तो बेमौसमी वर्षा र असिना ठूलो समस्या बन्ने गरेको पौड्यालको भनाइ छ।
हाल गहुँ बाली पाक्ने अन्तिम चरणमा रहेको अवस्थामा असिना परेकाले उत्पादनमा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ। समयमै वर्षा नहुँदा चिन्तित बनेका किसानहरू असिनाका कारण थप समस्यामा परेका छन्। कृषि विकास कार्यालय दैलेखले प्रभावित क्षेत्रको अनुगमन गरी क्षतिको यथार्थ विवरण संकलन गर्ने र आवश्यक परेमा सम्बन्धित निकायसँग समन्वय गरी किसानलाई राहत उपलब्ध गराउन पहल गर्ने जनाएको छ ।







