
यामराज बिष्ट
दैलेख । दैलेखको दुल्लु नगरपालिका–३ का गोविन्द बुढाले आफ्नै घरमै नागरिकता प्राप्त गर्नुभएको छ । जन्मजात अपाङ्गता भएका२१ वर्षीय बुढालाई इलाका प्रशासन कार्यालय दुल्लुले घरमै पुगेर नागरिकता वितरण गरेको हो । शारीरिक अवस्था कमजोर भई हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका बुढाका लागि यो सेवा निकै सहज र प्रभावकारी बनेको छ ।
अशक्त तथा सेवासम्म पहुँच नपुगेका नागरिकलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालय दुल्लुले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान सञ्चालन गरेको जनाएको छ । सोही अभियानअन्तर्गत आवश्यक कागजात संकलन, प्रमाणिकरण र अन्य प्रक्रिया पूरा गरी घरमै नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको इलाका प्रशासन कार्यालय दुल्लुका शाखा अधिकृत अर्जुनबहादुर मल्लले जानकारी दिनुभयो ।उहाँका अनुसार अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा विभिन्न कारणले कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई राज्यको सेवा–सुविधाबाट वञ्चित हुन नदिन यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । शाखा अधिकृत मल्लले भन्नुभयो“नागरिकता जस्तो महत्वपूर्ण कागजातबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले हामीले घरमै पुगेर सेवा दिन थालेका छौँ, यसले सेवाग्राहीलाई सहजता मात्र होइन, राज्यप्रतिको विश्वाससमेत बढाएको छ ।”
उहाँले अभिभावकले आवश्यक प्रक्रिया पूरा गरेपछि हामी समय मिलाएर घरमै पुगेर नागरिकता वितरण गरेको यस अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।
वडा कार्यालय र स्थानीय प्रशासनको सहकार्यमा घरमै पुगेर नागरिकता उपलब्ध गराइएको भन्दै गोविन्द बुढाका आमा गंगा बुढाले खुसी व्यक्त गर्नुभयो । उहाँले छोरा लामो समयदेखि बिरामी छन्, हिँडडुल गर्न समस्या छ । कार्यालयसम्म लैजान निकै गाह्रो थियो,” उहाँले भन्नुभयो, “घरमै आएर नागरिकता दिनु ठूलो राहत भयो, हामी अत्यन्त खुसी भएको बताउनुभयो ।
यस्तो सेवाले अपाङ्गता भएका तथा अशक्त नागरिकलाई ठूलो सहयोग पुगेको दुल्लू नगरपालिका ३का वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो । उहाँले स्थानिय सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहयोग गर्ने बताउनुभयो । आफूहरूले वडाका कुना–कुनामा गएर सेवा प्रवाह गर्नेगरेको बताउनुभयो ।
यस्तै नागरिकता प्राप्तिका लागि आवश्यक सहजीकरण पहल गर्न सफल भएको हातेमालो परियोजनाका सहजकर्ता भगवती भण्डारीले बताउनुभयो । उहाँले यस्ता कार्यले प्रशासन कार्यालयसम्म आउन समस्या हुने हुँदा सहजताका लागि सहयोग भएको बताउनुभयो । गोविन्द बुढा लामो समयदेखि बिरामी भई हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका थिए । नागरिकता नहुँदा विभिन्न सरकारी सेवा तथा सुविधाबाट वञ्चित हुनुपरेको अवस्थामा अब भने उहाँ राज्यका आधारभूत अधिकार प्राप्त गर्न सक्षम भएका छन् ।इलाका प्रशासन कार्यालयको यो पहलले दुर्गम तथा सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई राज्यसँग जोड्ने काम गरेको स्थानीयले बताएका छन् ।







