दैलेख। कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहले पत्रकारिता तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दैलेख शाखाले आयोजना गरिएको आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री शाहले तालिम केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पत्रकारिता समाजको दर्पण भएको उल्लेख गर्दै दक्ष र जिम्मेवार पत्रकार उत्पादन गर्न यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो ।मन्त्रि शाहले भन्नुभयो “तालिममा सिकेका कुरालाई समाचारका माध्यमबाट समाजसम्म पु¥याउनु आवश्यक रहेकाले पत्रकारिताको वास्तविक उद्देश्य पूरा गर्न पत्रकारहरूलाई सत्य, तथ्य र निष्पक्षतामा आधारित समाचार सम्प्रेषण गर्न पर्ने हुन्छ।”
उहाँले कसरी बोल्ने, कसरी उद्घोषण गर्ने र आधारभूत पत्रकारिताका विविध पक्षबारे तालिमले सहभागीलाई थप ज्ञान र आत्मविश्वास प्रदान गरेको उल्लेख गर्नुभयो ।
त्यस्तै, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले तालिमबाट प्राप्त ज्ञान व्यवहारिक जीवनमा निकै उपयोगी हुने बताउनुभयो । उहाँले पत्रकारिता गर्दा आचारसंहिताको पालना अनिवार्य गर्नु पर्ने उल्लेख गर्नुभयो । अध्यक्ष सुनार भन्नुभयो“पत्रकारले समय, परिस्थिति र प्रविधिसँग आफूलाई अद्यावधिक गर्न सक्नुपर्छ,तालिमबाट सिकेका सीप र ज्ञानलाई व्यवहारमा लागू गर्दै गुणस्तरीय समाचार उत्पादन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।” उहाँले यस्ता खाले तालिमले नेतृत्व विकासमा समेत टेवा पु¥याउने र सहभागीहरूलाई सार्वजनिक रूपमा प्रस्तुत हुन सक्षम बनाउने बताउनुभयो ।
कार्यक्रममा निरन्तर अभ्यासबाट पत्रकारको क्षमता अभिवृद्धि हुने दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर थापाले बताउनुभएको छ । उहाँले पत्रकारितामा सीप, दक्षता र व्यावसायिकता बढाउन नियमित अभ्यास अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार नेपालमा पत्रकारिता पेसालाई अझ मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन आवश्यक रहेको छ । पत्रकारले सत्य, निष्पक्ष र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सके मात्र पेसाको गरिमा बढ्ने अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।







