दैलेखमा ठेकेदार कम्पनीले सडक निर्माणमा मनोमानी र लापरबाही गरेको पाइएको छ । पूर्वाधार विकास कार्यालय दैलेखअन्तर्गत ताराघाट, खरीगैरा, गैडावाज, रानिवन, टाकुरी हुँदै कासिकाध सडक निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको हो ।
ठेकेदार कम्पनीले ठेक्का सम्झौता अनुसार काम नहुँदा निर्माण कम्पनीले सडक निर्माण कार्यमा लापरबाही गरेको पूर्वधार बिकास कार्यालय दैलेखले जनाएको छ ।
ताराघाट, खरीगैरा, गैडावाज, रानिवन, टाकुरी हुँदै कासिकाध सडक २०७९ भदौ ३ वर्षभित्र सम्पन्न गर्नेगरी पन्त आकृति जेभी गुल्मीले सम्झौता गरेको थियो । तोकिएको समयमा निर्माण सम्पन्न नगरेपछि पुन एक वर्षका लागि म्याद थपेको उक्त कम्पनीले १९ किलोमिटर यो सडकको कटिङ सडक चौडा र ६ किलोमिटर सडक ढलान तथा कालोपत्रे सम्झौता भएको थियो ।
पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख इन्जिनियर प्रविण कार्कीले बारम्बार निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेको बताउनुभयो । उहाँले योजना निर्माणका लागि उपकरण अभावका कारण निर्माण कार्य रोकिएको र केही दिनमै काम सुचारु हुने कम्पनीले बताउँदै आएको बताउनुभयो ।
कार्यालय प्रमुख कार्कीका अनुसार २०८३ भदौ ८ मा यसपटकको सम्झौता अवधि सकिनेछ । ‘हालको स्थितिमा योजनाको काम करिबकरिब ६०र६५ प्रतिशत सम्पन्न भएको छ,’ प्रमुख कार्कीले भने, ‘बाँकी थपिएको म्याद अवधिभित्र प्रगतिका आधारमा काम नभएमा नियमअनुसार कारबाही हुन्छ ।’
स्थानीयका अनुसार ठेकेदार कम्पनीले तोकिएको समयावधिमा काम नगर्दा सवारी तथा पैदल यात्रुलाई आउजाउमा समस्या पर्दै आएको छ । निर्माण कम्पनीले त्यस सडकका विभिन्न खण्डमा निर्माणको काम सुरु गरे पनि अलपत्र पार्दा वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले स्थानीयले झनै सास्ती खेप्नुपरेको छ ।
यस्तै निर्माण कम्पनी प्रशासन र सम्बन्धित कार्यालयलाई निर्माण कार्यको ढिला सुस्तीबारे जानकारी गराउँदासमेत अटेरी गरेको महावु–२ का वडा अध्यक्ष प्रकाशराज थापाले बताउनुभयो । उहाँले निर्माण कम्पनीले स्थानीयलाई झुक्याउँदै केही स्थानमा देखाउन मात्र काम गर्ने गरेको बताउनुभयो ।







