
दैलेख — नारायण नगरपालिका–११ मा स्थित रहेको राईली त्रिपानी संरक्षण अभावका कारण ओझेलमा पर्दै गएको छ। तीन वटा प्राकृतिक पानीका मुहान (त्रिपानी) रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि आवश्यक पूर्वाधार र संरक्षणको कमीका कारण अपेक्षित रुपमा विकास हुन सकेको छैन।
समुद्री सतहबाट करिब १८३१ मिटर उचाइमा अवस्थित राईली त्रिपानी शान्त वातावरण, हरियाली जंगल र स्वच्छ पानीका स्रोतका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो। स्थानीय जनविश्वास अनुसार यस क्षेत्र धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ, जसले गर्दा यहाँ विभिन्न अवसरमा दर्शनार्थीहरू आउने गरेका छन्।
तर, उचित प्रचारप्रसार, पहुँच मार्गको स्तरोन्नति, खानेपानी तथा बसोबासका आधारभूत संरचनाको अभावले गर्दा पर्यटक आगमन न्यून रहेको स्थानीयवासीको गुनासो छ। साथै, संरक्षणको अभावमा पानीका मुहान र आसपासका संरचना समेत जोखिममा पर्दै गएका छन्।
स्थानीय तह र सम्बन्धित निकायले आवश्यक ध्यान नदिँदा यस्ता महत्वपूर्ण सम्पदाहरू क्रमशः ओझेलमा पर्ने खतरा बढ्दै गएको छ।
राईली त्रिपानीको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनमा सरोकारवाला निकायले चासो दिएमा यो क्षेत्र जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने नारायण नगरपालिका ११पूर्ववडाध्यक्ष टंकबहादुर बिष्टले बताउनुभयो।
स्थानीयवासीहरूले तत्काल संरक्षण, सडक पहुँच सुधार, सूचना बोर्ड स्थापना तथा पर्यटनमैत्री संरचना निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।







