
यामराज बिष्ट
दैलेख। बाँकेको कोहलपुरदेखि सुर्खेत हुँदै दैलेखको चुप्रासम्म विस्तार हुने १३२ केभी प्रसारण लाइन आयोजनाको काम तीव्र रूपमा अघि बढाइएको छ। पछिल्लो समय आयोजनाअन्तर्गत दैलेखका विभिन्न क्षेत्रमा टावर निर्माण कार्य धमाधम भइरहेको हो ।
सुर्खेतको सुब्बा कुनादेखि दैलेखको चुप्रासम्म कुल १०१ वटा टावरमध्ये हालसम्म ७०टावरको फाउण्डेसन निर्माण २५वटा टावर पुर्णरुपमा निर्माण सम्पन्न भइसकेको कोहलपुर–सुर्खेत–दैलेख१सय३२केभि प्रसारण लाइन आयोजनाका प्रशासन प्रमुख युवराज बिष्टले बताउनुभयो । उहाँले दैलेख क्षेत्रमा रूख कटान सम्बन्धी निर्णय नेपाल सरकार मन्त्रिपरिषद्ले चाँडै निर्णय गरिदिए बाँकी काम समयमै सकिने अपेक्षा गरिएको बताउनुभयो ।
पछिल्लो समय स्थानीय विवादहरू समाधान हुँदै जाँदा सुर्खेत क्षेत्रमा जग्गा प्राप्तीका लागी काम सुरु भएको छ भने सुर्खेत, दैलेखतर्फ करिब ५० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ। दैलेखमा १०१ वटा टावर निर्माणका लागि ४६ जना स्थानीयको ६,९०२ वर्गमिटर जग्गा अधिग्रहणको जग्गा प्राप्ती कार्य सम्पन्न गरिएको छ ।
कर्णालीका बिभिन्न जिल्लामा हिउँदमा लो भोल्टेज र जेठ तथा बर्खायाममा हावा–हुरी र वर्षाका कारण विद्युत् संरचनामा क्षति पुग्दा उपभोक्ताले गुणस्तरीय विद्युत् सेवा पाउन सकेका थिएनन्। उक्त समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले यो प्रसारण लाइनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
पुराना तथा जीर्ण पोल, प्राकृतिक विपद्का कारण हुने क्षतिले विद्युत् वितरण प्रणाली अव्यवस्थित भइरहेका बेला १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि कर्णाली वासीले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ।
करिब ८५ करोड रुपैयाँ लागतको यस आयोजनाअन्तर्गत सुर्खेत देखि दैलेख सम्म३२ किलोमिटर लामो प्रसारण लाइन निर्माणसँगै दैलेखको चुप्रामा सबस्टेसन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।दैलेख सुर्खेत अन्र्तगत१सय१ टावर मध्ये५६दैलेख जिल्लामा सुर्खेतमा ४५टावर निर्माण गरिने जनाएको छ ।







