२०८३ जेठ १९ , मंगलबार

आफ्नो व्यवसाय सुरु तथा सुधार तालिम सञ्चालन



दैलेख ,वैशाख १३ गते ।  स्थानीय स्तरमा उद्यमशीलता विकास तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले नारायण नगरपालिकामा “आफ्नो व्यवसाय सुरु तथा सुधार गरौं” तालिम सञ्चालन गरिएको छ । नारायण नगरपालिकाको आयोजनामा गरिएको नव प्रवर्तन साझेदारी परियोजना अन्तर्गत उक्त तालिममा नारायणका विभिन्न वडाका सहभागीहरूको उपस्थिति रहेको छ ।

तालिम उद्घाटन समारोहमा बोल्दै(SIYB)तालिमका मुख्य प्रशिक्षक तथा नारायण नगरपालिका सामाजिक विकास प्रमुख खमबहादुर थापाले महिला उद्यमीलाई तालिम अवधिभर सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । उहाँले देशमा बढ्दो बेरोजगारी समस्याको दीर्घकालीन समाधानका लागि उद्यमशीलता विकास अपरिहार्य भएको औंल्याउनुभयो । उहाँका अनुसार पहिलो चरणमा नगरपालिका–१ देखि ११ वडासम्मका १ सय २५ जनालाई तालिम प्रदान गरिनेछ ।

कार्यक्रममा नगरप्रमुख लोमन शर्माले स्थानीय तहले उद्यमी उत्पादन गर्ने दिशामा यस्ता तालिम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले व्यवसाय सुरु गर्न इच्छुक तथा सञ्चालन गरिरहेका व्यक्तिहरूलाई लक्षित गरी प्रदान गरिने सीप, ज्ञान र परामर्शले व्यवहारिक रूपमा व्यवसाय विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, तालिमपश्चात कृषि तथा पशुपालन क्षेत्रमार्फत थप सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो।

 

त्यसैगरी, नारायण नगरपालिका–२ का वडाध्यक्ष रेशमबहादुर थापाले तालिमले सहभागीहरूलाई उद्यमी बन्न प्रेरित गर्ने उल्लेख गर्दै तालिमको उद्देश्यअनुसार उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले उद्यमशीलता विकासका लागि सिक्ने इच्छा र प्रतिबद्धता आवश्यक रहने धारणा व्यक्त गर्नुभयो। उहाँले तालिमका क्रममा प्रदान गरिने व्यावहारिक अभ्यासले व्यवसाय सञ्चालनका चुनौती र समाधानबारे स्पष्ट ज्ञान दिलाउने बताउनुभयो ।
उक्त तालिममा व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय अनुशासन तथा व्यवसाय विस्तारका रणनीतिबारे प्रशिक्षण प्रदान गरिने जनाइएको छ। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले आफ्ना व्यवसाय सुरु तथा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख १३ गते आइतबार
प्रतिक्रिया