जाजरकोट। जाजरकोटमा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। आज सोमवार देखि सुरु भएको कक्षा १२ को परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिन पुगेका उनीहरू पक्राउ परेका हुन्।
जिल्लाको बारेकोट गाउँपालिका–२ स्थित वीरन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सा परीक्षा केन्द्रमा सरिता बिक।को स्थानमा परीक्षा दिन पुगेकी बारेकोट गाउँपालिका–६ टासी बस्ने २० वर्षीया सम्झना बिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी एक्कबहादुर नेपाली जानकारी दिनुभयो।
यस्तै रमेश नेपालीको स्थानमा परीक्षा दिन पुगेका नलगाड नगरपालिका–६ गर्सेना बस्ने १५ वर्षीय मानबहादुर नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सूचना अधिकारी नेपालीका अनुसार सहायक निरीक्षक कृष्णबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई परीक्षा केन्द्रबाट नियन्त्रणमा लिएको हो।







