२०८३ जेठ १९ , मंगलबार

वन अतिक्रमण बढ्दै दैलेखमा,४२० हेक्टर जमिन अतिक्रमण



दैलेख । पछिल्लो समय दैलेख जिल्लामा वन क्षेत्र अतिक्रमण क्रमशः बढ्दै गएको पाइएको छ । अतिक्रमित क्षेत्रमा धार्मिक, सामाजिक, र निजी संरचना बनेका कारण जिल्लामा वन क्षेत्र अतिक्रमण क्रमशः बढ्दै गएको पाइएको हो । डिभिजन वन कार्यालय दैलेखले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म जिल्लाभर करिब ४२०.२९ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये ८१ हेक्टर क्षेत्र नयाँ अतिक्रमणमा परेको हो भने ३३८.८९ हेक्टर क्षेत्र पुरानै अतिक्रमणको अवस्थामा रहेको जनाइएको छ । डिभिजन वन कार्यालयका अनुसार अतिक्रमणको समस्या जिल्लाका विभिन्न स्थानीय तहमा फैलिएको छ।

सबै भन्दा बढी चामुण्डाबिन्द्रासैनि नगरपालिका, ठाटिकाँध गाउपालिकामा २४०.१०हेक्टर वन अतिक्रमण भएको पाएको छ । यस्तै नारायण नगरपालिका र भगवतीमाई गाउँपालिकामा १३.८९हेक्टर अतिक्रमणको रहेको छ । यी क्षेत्रमा वन क्षेत्र मासिँदै बसोबास, खेतीपाती तथा अन्य प्रयोगमा ल्याइएका घटनाहरू देखिएका छन्।

यस्तै, डुंगेश्वर र गुराँस गाउँपालिकामा नयाँ तथा पुराना दुवै प्रकार गरि१८.९२हेक्टर अतिक्रमण भेटिएका छन् । दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा ५९.५४हेक्टर वन क्षेत्र अतिक्रमणको समस्या भएको कार्यालयले जनाएको छ । महाबु गाउँपालिकामा ६२.१२ हेक्टर क्षेत्र अतिक्रमणमा परेको विवरण सार्वजनिक गरिएको छ। जिल्लामा अतिक्रमण हटाउन तथा वन क्षेत्र खाली गराउन पहल सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहले बताउनुभयो। उहाँले कार्यालयले अतिक्रमित क्षेत्र खाली गर्न ७ दिने सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छिक रूपमा हट्न आग्रह गरेको बताउनुभयो।

जिल्लाका नारायण, आठबीस, दुल्लु नगरपालिका लगायतका स्थानीय तहलाई आवश्यक समन्वय र सहकार्यका लागि पत्राचार गरिएको समेत उहाँले बताउनुभयो। वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै कार्यालयले सामूहिक पहल आवश्यक रहेको औँल्याएको छ। वन अतिक्रमण नियन्त्रण नगरे दीर्घकालीन रूपमा वातावरणीय सन्तुलनमा असर पर्ने, जैविक विविधता घट्ने तथा प्राकृतिक विपद्का जोखिम बढ्ने खतरा रहेको सरोकारवालाहरू बताउँछन्।

स्थानीय बासिन्दाको जीविकोपार्जन, बसोबासको आवश्यकता तथा जनचेतनाको कमी जस्ता कारणले वन अतिक्रमण बढ्दै गएको विश्लेषण गरिएको छ । यस्ता खाले समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, कडाइका साथ कार्यान्वयन र समुदायस्तरमा जनचेतना अभिवृद्धि आवश्यक देखिएको छ । क्याप्सनः वन अतिक्रम गरी निर्माण हुँर्दै गरिएका घरटहरा । तस्बीरःयामराज बिष्ट

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार
प्रतिक्रिया