काठमाडौँ। आइसिसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नेपाल ओमानसँग एक सय दुई रनले पराजित भएको छ ।त्रिवि क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित खेलमा नेपाल ओमानसँग डिएलएस प्रणालीका आधारमा स्तब्ध बनेको हो ।
जितका लागि तीन सय ६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले ३६।५ ओभरमा सात विकेटको क्षतिमा एक सय ५५ रन जोड्दा खेल वर्षाका कारण रोकिएको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६० रन बनाउनुभएका ऐरीले ६२ बलमा सात चौका एक छक्का हान्नुभयो ।
यस्तै भीम सार्कीले २८, आशिफ शेखले १९, आरिफ शेखले १४, कप्तान रोहित पौडेलले १०, गुलशन झाले अविजित १४ र सोमपाल कामीले दुई रन बनाउनुभयो ।
बलिङमा ओमानका नदीम खानले तीन विकेट लिनुभयो । यस्तै सकिल अहमदले दुई तथा मोहम्मद इमरन र वासिम अलीले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ रोजेको ओमानले ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय पाँच रन बनाएको थियो ।








