
दैलेख वैशाख २४ गते ।दैलेखमा जटिल प्रसूति अवस्था ‘कर्ड प्रोल्याप्स’को सफल व्यवस्थापन गर्दै स्वास्थ्यकर्मीहरूले आमा र नवजात शिशुको ज्यान बचाउन सफल भएका छन्।
प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचाररत एक गर्भवतीमा नाल बाहिर निस्किने जोखिमपूर्ण अवस्था देखिएपछि डाक्टर वर्षाले जिल्ला अस्पताल दैलेखका कार्यालय प्रमुख डाक्टर मनोज विश्वकर्मासँग समन्वय गर्नुभएको थियो। त्यसपछि बिरामीलाई तत्काल जिल्ला अस्पताल पठाइएको थियो।

बिरामीलाई अस्पताल ल्याउने क्रममा अनमी जमुना घर्ती मगरले नाल बाहिर निस्किन नदिन निरन्तर प्रयास गर्नुभएको थियो। अस्पताल पुगेलगत्तै गरिएको परीक्षणमा शिशुको मुटुको धड्कन अत्यन्त कम देखिएपछि चिकित्सक टोलीले तत्काल आकस्मिक शल्यक्रिया गरेको थियो।
एनेस्थेसिया सहायक अनुपस्थित रहेका बेला डाक्टर विश्वकर्माले स्वयं बेहोस बनाउने प्रक्रिया सम्हाल्दै शल्यक्रिया गर्नुभएको थियो। करिब १५ मिनेटमा गरिएको सफल शल्यक्रियापछि आमा र शिशु दुवै सुरक्षित रहेका छन्।








