२०८३ साउन १३ , बुधबार

दैलेख-जाजरकोट सिमानामा अन्तरपालिका सहकार्यको सहमती



 

दैलेख।दैलेखको भगवतीमाई गाउँपालिका र जाजरकोटको छेडागाड नगरपालिकाबीच अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । दुवै स्थानीय तहको सिमानास्थित सुयडामा आयोजित बैठकले सीमा क्षेत्रमा देखिएका साझा चुनौतीहरूको समाधानका लागि संयुक्त रणनीति अपनाउँदै अघि बढ्ने महत्वपूर्ण सहमति गरेको हो ।
बैठकले धार्मिक स्थल व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध नियन्त्रण, फोहोरमैला व्यवस्थापन तथा पिकनिक स्थल निर्माणलगायतका क्षेत्रमा समन्वयात्मक सहकार्य गर्ने निर्णय गरेको भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिनुभयो । उहाँले सीमा क्षेत्रमा बढ्दो गतिविधि, व्यवस्थापनको अभाव र समन्वयको कमीका कारण देखिएका समस्यालाई समाधान गर्न दुई पालिकाको सहकार्य अपरिहार्य बनेको बताउनुभयो ।उहाँले दुवै पालिकाबीच पहिलो पटक औपचारिक रूपमा समन्वय बैठक आयोजना गरिएको उल्लेख गर्दै यसले अन्तरपालिका सहकार्यलाई संस्थागत बनाउने विश्वास व्यक्त गर्नुभयो। “अब सहकार्य कागजमा मात्र सीमित नरही कार्यान्वयनमा जानेछ,” उहाँले भन्नुभयो।

यस्तै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले बैठकबाट भएका निर्णयहरूलाई प्रभावकारी कार्यान्वयनमा लैजान दुवै पक्ष प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, शान्ति सुरक्षा सुदृढीकरण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा संयुक्त पहल प्रभावकारी हुने धारणा राख्नुभयो। साथै, संयुक्त प्रयासमार्फत आन्तरिक पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले सीमा क्षेत्रमा पर्ने सडक निर्माण, पर्यटन पूर्वाधार विकास र प्राकृतिक स्रोतको संरक्षणमा दुवै पालिका मिलेर अघि बढ्ने स्पष्ट पार्नुभयो। उहाँले यस्ता समन्वय बैठकले स्थानीय तहबीचको सम्बन्ध मजबुत बनाउने मात्र नभई विकासका कामलाई तीव्रता दिने बताउनुभयो। “स्थानीय तहहरूबीच सहकार्य बिना सीमावर्ती समस्याको दीगो समाधान सम्भव छैन,” उहाँले भन्नुभयो। उहाँले स्थानीय तहबीच सहकार्यको नमूना अभ्यासका रूपमा लिँदै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

बैठकमा दुवै पालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले सीमा क्षेत्रमा देखिने चोरी–डकैती, धार्मिक स्थलको संरक्षण तथा विपद्का बेला तत्काल उद्धार तथा राहत व्यवस्थापनमा संयुक्त संयन्त्र आवश्यक रहेको धारणा राखेका थिए। यस सहमतिसँगै दुवै पालिकाले निकट भविष्यमा संयुक्त कार्ययोजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार
प्रतिक्रिया