
दैलेख, वैशाख २५ गते । नेकपा एमाले दैलेखको बैठक सम्पन्न भएको छ। बैठकले वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्वयन, राष्ट्रियता, ऊर्जा विकास तथा प्राकृतिक स्रोतको उपयोगलगायत विषयमा विभिन्न धारणा सार्वजनिक गरेको छ।
बैठकले सरकार संविधानको मर्मअनुसार अघि बढ्नुपर्ने, जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने तथा आवास, खानेपानीलगायत आधारभूत सेवाका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।
त्यस्तै, दैलेखसँग जोडिएको अपर कर्णाली जलविद्युत् आयोजनालाई राष्ट्रिय हितअनुसार प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरिएको छ।
आयोजना दीर्घकालीन रूपमा नेपालकै हितमा उपयोग हुनुपर्ने तथा स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउनुपर्ने धारणा बैठकले अघि सारेको एमाले दैलेखका अध्यक्ष सुर्यबहादुर शाहीले बताउनुभयो।उहाँका अनुसार बैठकमा दैलेखको भैरवी गाउँपालिका क्षेत्रमा मिथेन ग्यासको सम्भावना रहेको उल्लेख गर्दै पेट्रोलियम तथा ग्यास उत्खननलाई तीव्र बनाउन नेपाल सरकारसँग आग्रह गरिएको छ। नेपालमा इन्धन संकटको जोखिम बढिरहेका बेला स्वदेशी ऊर्जा स्रोतको उपयोग अपरिहार्य रहेको बैठकको निष्कर्ष छ।
त्यसैगरी, वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यता, संसद्को प्रभावकारी भूमिका तथा नागरिक अधिकारको संरक्षणमा सरकार गम्भीर हुनुपर्नेमा बैठकले जोड दिएको छ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा पनि बैठकले व्यक्त गरेको छ।








