२०८३ साउन १२ , मंगलबार

नारायण पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा



यामराज बिष्ट
दैलेख । दैलेखको नारायण नगरपालिका नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चिता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
राष्ट्रिय खोप तालिका अनुसार नारायण नगरपालिकाका ११ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य अधिकृत लालबहादुर खड्काले बताउनुभयो । उहाँले प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले नगरपालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पूर्ण खोपयुक्त नगपालिका सुनिश्चितता घोषणा गरिएको बताउनुभयो ।
यस्तै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गर्नका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिकालाई खोप लगाउने कार्यमा खट्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले आगामी वर्ष पनि पूर्णखोप सुनिश्चित गर्ने कामलाई निरन्तरता दिने प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गरेका गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभयो। उहाँले व्यक्ति धनी हुँदैमा मात्र समाज समृद्ध नहुने, नागरिक स्वस्थ भए मात्र देश समृद्ध बन्न सक्ने धारणा राख्नुभयो।उहाँले खोपले बालबालिकालाई विभिन्न सङ्क्रामक तथा जोखिमपूर्ण रोगबाट बचाउने भएकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने बताउनुभयो। उहाँले समुदायस्तरमा अझै पनि खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले सबै अभिभावकलाई नियमित रूपमा बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो।
यसैगरी स्वास्थ सेवा कार्यालय दैलेखका प्रतिनिधि डाक्टर सुदीप खड्काले पूर्ण खोप सुनिश्चितता गरेर अरु पालिकाभन्दा नारायण एक कदम अगाडि बढेको बताउनुभयो। उहाँले जिल्लाभर खोप अभियान सफल बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो।
डाक्टर खड्काले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पालिकाले समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो। उहाँले बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।उहाँले जिल्लामा यो कार्यमा सबैको महत्त्वपूर्ण योग्दान रहने जानकारी दिनुभयो। उहाँले अन्य पालिकाले पनि खोप अभियान सफल बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार
प्रतिक्रिया