२०८३ जेठ १९ , मंगलबार

पावर परियोजनाको बहिर्गमन तथा समीक्षा कार्यक्रम सम्पन्न



 

दैलेख, वैशाख २९ गते । एभरेष्ट क्लब दैलेख र सेभ द चिल्ड्रेन को साझेदारीमा २०७८ साउनदेखि सञ्चालन हुँदै आएको ‘पावर परियोजना’को पाँच वर्षे कार्यकालको समीक्षा तथा बहिर्गमन कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार नारायण नगरपालिकामा आयोजित कार्यक्रममा एभरेष्ट क्लब दैलेखका वरिष्ठ उपाध्यक्ष बालकृष्ण केसीको अध्यक्षता तथा नारायण नगरपालिका का नगर प्रमुख लोमन शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा परियोजना संयोजक भूपेन्द्र खत्रीले पाँच वर्षको अवधिमा परियोजनामार्फत सञ्चालन गरिएका विभिन्न गतिविधिहरूको प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँका अनुसार परियोजनाअन्तर्गत छात्रवृत्ति सहयोग, सिकाइ सुधार कक्षा सञ्चालन, विद्यालयमा अभिभावक अभिमुखीकरण, किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा, सहकारीमार्फत बाल अनुदान कोष तथा घुम्ती कोष सञ्चालन गरिएका थिए ।
यसैगरी जीवन उपयोगी सीप, उद्यम विकास तथा सीप विकास तालिम, स्वास्थ्य संस्था, विद्यालय तथा विपन्न परिवारका लागि शौचालय निर्माण लगायतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिएको समीक्षा कार्यक्रममा जानकारी गराएको थियो ।

कार्यक्रमका फोकल पर्सन तथा नारायण नगरपालिका दैलेखका सामाजिक विकास अधिकृत खमबहादुर थापाले सेभ द चिल्ड्रेन र बुल्गारीको सहयोगमा नारायण नगरपालिकामा सञ्चालित पावर परियोजना अत्यन्त प्रभावकारी र मापनयोग्य रहेको बताउनुभएको छ । उहाँले परियोजनाले विशेषगरी युवा तथा किशोर–किशोरीहरूको क्षमता विकास, सशक्तीकरण र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो । साथै, किशोर–किशोरी लक्षित कार्यक्रममध्ये पावर परियोजना सबैभन्दा उत्कृष्ट र उपलब्धिमूलक कार्यक्रमका रूपमा रहेको उहाँको भनाइ थियो ।

परियोजनाको छात्रवृत्ति सहयोग कार्यक्रमको सकारात्मक प्रभावलाई आत्मसात गर्दै दैलेखका विभिन्न निजी क्षेत्रका उद्यमी तथा व्यवसायीहरूले नारायण नगरपालिका भित्र विद्यालय छोड्ने जोखिममा रहेका ११ जना बालबालिकालाई प्रति व्यक्ति १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेका छन् ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गर्ने उद्योगी–व्यवसायीहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । साथै परियोजनामार्फत उद्यमशीलता तथा सीप विकास तालिम प्राप्त व्यक्तिहरूलाई रोजगारी उपलब्ध गराउने दुई जना रोजगारदातालाई समेत सम्मान गरिएको जनाइएको छ ।
दिगोपनमा नगरपालिकाको प्रतिबद्धता
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लोमन शर्माले पावर परियोजनाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा जीविकोपार्जनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले परियोजनाको बहिर्गमनपछि पनि सकारात्मक प्रभाव र गतिविधिहरूलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समेटेर दिगोपनका लागि आवश्यक सहयोग र अनुगमन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नगर प्रमुख शर्माले पावर परियोजनालाई अर्थपूर्ण र सफल परियोजनाको रूपमा मूल्यांकन गर्नुभयो ।

यस्तै कार्यक्रममा सेभ द चिल्ड्रेन बाट परियोजना संयोजक मतिलाल ढकाल तथा परियोजना व्यवस्थापक बालमुकुन्द महतको सहभागिता रहेको थियो । कार्यक्रममा परियोजना व्यवस्थापक महतले कार्यक्रमको उद्देश्य तथा स्थानीय तहसँग परियोजनाले राखेका अपेक्षाबारे जानकारी गराउनुभएको थियो ।कार्यक्रम सञ्चालन एभरेष्ट क्लब कार्यसमिति सदस्य दीपक केसीले गर्नुभएको थियो ।

कार्यक्रममा एभरेष्ट क्लब दैलेखका वरिष्ठ उपाध्यक्ष बालकृष्ण केसीले पावर परियोजनाले अत्यन्त उदाहरणीय कार्य गरेको बताउनुभएको छ । उहाँले परियोजनामार्फत धेरै युवायुवती तथा किशोर–किशोरीलाई व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो । उहाँले परियोजना सफल बनाउन स्थानीय तह, साझेदार संस्था तथा समुदायका सबै पक्षबाट महत्वपूर्ण सहयोग प्राप्त भएको  बताउनुभयो ।

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार
प्रतिक्रिया