
यामराज बिष्ट
दैलेख, वैशाख ३० गते । पछिल्लो समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–६स्थित रहेको जम्मुकाध जयदेव माध्यमिक विद्यालय लामो समयदेखि राजनीतिक विवाद र प्रशासनिक अन्योलको मारमा पर्दै आएको छ । राजनीतिक विवादका कारणले उक्त विद्यालयको जीर्ण हुँदै जाँदा विद्यार्थीको सुरक्षामा जोखिम बढेको हो ।
विद्यालयको पुरानो ढुंगामाटो र पत्थरले छाएको भवन पूर्ण रूपमा जीर्ण बनेको विद्यालयका प्रधानाध्यापक तिलक प्रसाद शर्माले बताउनुभयो । उहाँले केही समयअघि ‘रेक्टोफिटिङ’ प्रविधिमार्फत करिब १५ लाख रुपैयाँ खर्च गरेर मर्मत गरिए पनि भवन प्रयोगयोग्य बन्न नसकेको बताउनुभयो।उहाँले उक्त पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गर्न संघीय सरकारबाट १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भई ठेक्का प्रक्रिया समेत सम्पन्न भइसकेको बताउनुभयो । उहाँले पुरानो भवन हटाउनुअघि त्यसको प्राविधिक मूल्यांकन आवश्यक पर्ने भएकाले विद्यालय व्यवस्थापन समिति र प्रशासनले निर्णयसहित नगरपालिकालाई पत्राचार गरिसकेको तर नगरपालिकाबाट इन्जिनियर वा प्राविधिक खटाएर आवश्यक मूल्यांकन तथा लगत संकलनको काम अघि नबढाइएको आरोप लगाउनुभयो।
उहाँले विद्यालयसँग पर्याप्त विद्यार्थी संख्या भए पनि भौतिक संरचनाको अभावले समस्या बढिरहेको बताउनुभयो। उहाँले आएको बजेट समयमै कार्यान्वयन हुन नसके विद्यालयले ठूलो अवसर गुमाउने चिन्ता व्यक्त गर्नुभयो। प्रधानाध्याप्क शर्माले भन्नुभयो “हामीले सम्बन्धित सबै निकायमा समन्वय र पहल गरिरहेका छौँ। तर नगरपालिका स्तरबाट आवश्यक सहयोग नहुँदा काम रोकिएको हो। , ,
उहाँले समयमै निर्णय नहुँदा संघीय सरकारबाट प्राप्त भवन निर्माण बजेटसमेत फिर्ता जाने जोखिम बढेको बताउनुभयो ।
भवन निर्माणमा कुनै अवरोध नगरेको चामुण्डाबिन्द्रासैनि नगरपालिका उपप्रमुख मनसरा कुमारी शर्माले बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचना जिर्ण भएकाले भवन निमाणका लागी आफूले पहल गर्ने बताउनुभयो । उहाँले भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
त्यस्तै नगरपालिका इन्जिनियर कुमार खेम शुन्दर शाहीले कार्यपालिका र नगरपालिकाबाट स्पष्ट निर्णय तथा जिम्मेवारी नआएसम्म काम अगाडि बढ्न कठिन रहेको बताउनुभयोे । उहाँले भवन निर्माणका लागी निर्णय काम अगाडी बढाउने बताउनुभयो ।
विद्यालयमा बेला–बेला विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक कर्मचारी व्यवस्थापन तथा भवन निर्माणका विषयलाई लिएर विवाद हुँदै आएको छ । भौतिक संरचना निर्माणका क्रममा राजनीतिक खिचातानी बढ्दा राज्यबाट निकासा भएको बजेटसमेत कार्यान्वयन हुन नसकी फिर्ता जाने अवस्था सिर्जना हुने गरेको स्थानीय बताउँछन् । लामो समयदेखि राजनीतिक स्वार्थको केन्द्र बन्दै आएको जयदेव मावि अहिले पनि विकासभन्दा विवादमै अल्झिएको छ ।







