२०८३ जेठ १९ , मंगलबार

दैलेखको एसईई नतिजा निराशाजनक, तीन विद्यालयको नतिजा शून्य



 

यामराज बिष्ट
दैलेख । दैलेख जिल्लाको माध्यमिक शिक्षा परीक्षा एसईई २०८३को नतिजा निराशाजनक देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका अनुसार परीक्षामा सहभागी ४ हजार ३०६ विद्यार्थीमध्ये १ हजार ३७० जना मात्र उत्तीर्ण भएका छन् ।
जिल्लाको कुल उत्तीर्ण प्रतिशत ३१ दशमलव ८२ रहेको छ भने २ हजार ९सय३६ विद्यार्थी अनुत्तीर्ण भएका छन् । विवरणअनुसार जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थी २ जना रहेका छन् ।त्यसैगरी ३ दशमलव ६० देखि ४ जीपीएसम्म ४० जना, ३ दशमलव २० देखि ३ दशमलव ६० सम्म १३३ जना, २ दशमलव ८० देखि ३ दशमलव २० सम्म ४सय३१ जना, २ दशमलव ४० देखि २ दशमलव ८० सम्म ६सय३४ जना तथा २ दशमलवदेखि २ दशमलव ४० जीपीएसम्म १३० जना विद्यार्थी रहेका छन् ।
जिल्लाका ११ स्थानीय तहमध्ये भगवतीमाई गाँउपालिका पहिलो भएको छ । भगवतीमा ३सय४८सहभागी विद्यार्थीमध्ये२सय८२उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ८१ दशमलव०३ दशमलव रहेको छ ।
यसैगरी दोस्रोमा नारायण नगरपालिका देखिएको छ । नारायणमा ४४३ सहभागी विद्यार्थीमध्ये २७० जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ६२ दशमलव ५८ रहेको छ ।नारायण नगरपालिकाभित्र सामुदायिकतर्फ जनता माध्यमिक विद्यालय कोटथाप्लाले शतप्रतिशत नतिजा ल्याएको छ भने संस्थागत विद्यालयतर्फ फूलबारी विद्यामन्दिर, दैलेख मोडल स्कुल र सनराइज बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा हासिल गरेका छन् । यस्तै दैलेखका दुई जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्दै जिल्ला प्रथम भएका छन् । जिल्लाभर त्रिभुवन नमुना माध्यामिक विद्यालय नयाँ वजार दैलेखका उपेन्द्र  जिसी र अनु थापाले ४ जीपीए ल्याएर जिल्ला प्रथम हुनुभएको हो ।

 

यसैगरी डुङ्गेश्वर गाउँपालिका–३को नेरा माध्यमिक विद्यालय हनेटा, नौमुले गाउँपालिका– ३को कालिका माध्यमिक विद्यालय बाग्रेटिमुरे तथा भैरवी गाउँपालिका–५को मष्टामाडु माध्यमिक विद्यालयको नतिजा शून्य आएको छ ।
दैलेखको एसईई नतिजा निकै कमजोर र निराशाजनक रहेको शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख रमेशबहादुर मल्लले बताउनुभयो । उहाँले अभिभावक, विद्यार्थी, शिक्षक तथा सरकार सबै पक्षको कमजोरीका कारण यस्तो अवस्था आएको बताउनुभयो ।
प्रमुखमल्ले भन्नुभयो,“दैलेख जिल्लाको एसईई नतिजा राम्रो छैन । निकै कमजोर र निराशाजनक देखियो । अब यस विषयमा सरोकारवालाले गम्भीर समीक्षा गर्नुपर्छ ।”
उहाँले नतिजा शून्य ल्याउने विद्यालयलाई स्पष्टीकरण सोधेर आवश्यक कारबाही गरिने समेत जानकारी दिनुभयो ।
जिल्लामा यस वर्षको नतिजाले सामुदायिक विद्यालयको गुणस्तर सुधारबारे गरिँदै आएको दाबीमाथि प्रश्न उठाएको छ । शिक्षा क्षेत्रका सरोकारवालाले अब शिक्षा प्रणालीबारे गम्भीर बहस आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार
प्रतिक्रिया