२०८३ जेठ १९ , मंगलबार

त्रिभुवन नमुना माध्यमिक विद्यालयका उपेन्द्र र अनु ४ जीपीएसहित जिल्ला प्रथम



यामराज बिष्ट
दैलेख, वैशाख ३१ गते । माध्यमिक शिक्षा परीक्षा एसईई २०८३ को नतिजामा दैलेख जिल्लाबाट त्रिभुवन नमुना माध्यमिक विद्यालय नयाँबजारका दुई विद्यार्थी उपेन्द्र जिसी र अनु थापाले उत्कृष्ट सफलता हासिल गर्नुभएको छ । उहाँहरूले ४ जीपीए प्राप्त गर्दै जिल्लाभरमै प्रथम स्थान हासिल गर्न सफल हुनुभएको हो ।

विद्यालयले हालसम्मकै उत्कृष्ट नतिजाको रेकर्ड कायम गरेको त्रिभुवन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीले बताउनुभयो । उहाँले विद्यालयले विगतदेखि नै उत्कृष्ट नतिजा ल्याउने गरेकोमा बताउनुभयो ।उहाँले विद्यालयका शिक्षकहरूले उपेन्द्र र अनु सुरुदेखि नै अध्ययनमा अब्बल तथा अनुशासित विद्यार्थी रहेको बताउनुभयो ।

गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ दत्तचित्त रहेको र यसमा शिक्षक, विद्यार्थी र अभिभावकहरुको मेहनत र योगदान गरेको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्यालले बताउनुभयो । उहाँले जिल्लाभर दोस्रोमा नारायण नगरपालिका देखिए पनि २ जनाले चार जीपीए ल्याएर जिल्ला भरबाट प्रथम भएको बताउनुभयो ।

नारायणमा ४४३ सहभागी विद्यार्थीमध्ये २७० जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ६२ दशमलव ५८ रहेको छ ।नारायण नगरपालिकाभित्र सामुदायिकतर्फ जनता माध्यमिक विद्यालय कोटथाप्लाले शतप्रतिशत नतिजा ल्याएको छ भने संस्थागत विद्यालयतर्फ फूलबारी विद्यामन्दिर, दैलेख मोडल स्कुल र सनराइज बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा हासिल गरेका शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्यायको भनाई छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार
प्रतिक्रिया