२०८३ जेठ १९ , मंगलबार

जाहारकाेट-माल्ली खण्डको स्तराेन्नित सुरु



दैलेख ।लामो समयदेखि कानुनी विवादका कारण रोकिएको मध्यपहाडी राजमार्गअन्तर्गत दैलेखको जाहारकोट–मल्ली खण्डमा सडक स्तरोन्नति तथा कालोपत्रे कार्य पुनः सुरु गरिएको छ। नारायण नगरपालिका–२ अन्तर्गत पर्ने उक्त सडकखण्डको करिब २ सय ६० मिटर क्षेत्रमा निर्माण कार्य थालिएको हो ।
जग्गाधनीले क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि यसअघि निर्माण कार्य रोकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका योजना प्रमुख इन्जिनियर निरञ्जन थापाले बताउनुभयो । उहाँले सर्वोच्च अदालतबाट रिट खारेज भएसँगै रोकिएको काम पुनः अघि बढाइएको बताउनुभयो ।योजना प्रमुख थापाले भन्नुभयो“उक्त सडकखण्डमा रिट परेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै सडक निर्माण नगर्न निर्देशन दिएको थियो। त्यसपछि लामो समयसम्म उक्त खण्डको काम प्रभावित बनेको थियो। “
२०७८ चैत ८ गते दर्ता भएको रिटमा हाललाई काम नबढाउन चैत ९ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको जानकारी दिँदै हाल सर्वोच्च अदालतले उक्त रिट खारेज गरेपछि निर्माण कार्य सञ्चालन गर्न बाटो खुलेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले रिट खारेज गरेपछि निर्माण कम्पनीले तत्कालै काम सुरु गरेको योजना प्रमुख थापाको भनाइ छ । उहाँले दैलेख जाहारकोट–माल्ली खण्डको काम भने असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र रूपमा अगाडि बढाइएको बताउनुभयो। उहाँले लामो समयसम्म रोकिएको काम पुनः सुरु भएकाले निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो ।
दैलेखको सम्पूर्ण खण्ड कालोपत्रे भएपछि पूर्वतर्फ जाजरकोटको सुयाडा र पश्चिमतर्फ अछाम सम्म सहज रूपमा यात्रा गर्न सहज हुने अपेक्षा गरिएको नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले बताउनुभयो । उहाँले सडक सहज बनेसँगै स्थानीय कृषकका उत्पादनले बजार पाउने, व्यापारिक गतिविधि विस्तार हुने तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको बताउनुभयो ।उहाँले मध्यपहाडी राजमार्ग निर्माणले दैलेखको आर्थिक तथा सामाजिक विकासको आधार बन्ने बताउनुभयो ।
निर्माण कम्पनीले पनि मौसम अनुकूल रहे निर्धारित समयभित्र कालोपत्रे कार्य सम्पन्न गर्ने जनाएको छ। सडक निर्माण पुनः सुरु भएसँगै स्थानीयवासीमा उत्साह देखिएको छ । वर्षौंदेखि धुलाम्मे र जोखिमपूर्ण सडकका कारण समस्या भोग्दै आएका स्थानीयले अब सहज यातायातको अपेक्षा गरेका छन्।सडक निर्माण रोकिँदा यात्रु, व्यवसायी तथा किसान सबैभन्दा बढी प्रभावित भएका थिए। सडक स्तरोन्नति नहुँदा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण आवागमन कठिन बन्ने गरेको थियो।

मध्यपहाडी राजमार्ग राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको महत्वपूर्ण सडक सञ्जाल हो। पूर्वदेखि पश्चिमसम्म पहाडी भूभागलाई जोड्ने उद्देश्यले निर्माण भइरहेको यो राजमार्गअन्तर्गत दैलेख जिल्लामा मात्र करिब १२५ किलोमिटर सडक खण्ड पर्दछ। जिल्लाका अधिकांश खण्डमा कालोपत्रे कार्य सम्पन्न भइसकेकोे छ ।सडक निर्माण समयमै सम्पन्न भए जिल्लाको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार
प्रतिक्रिया