
दैलेख, जेठ ३गते । दैलेखको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकोशी धार्मिक पर्यटन मेलाको आयव्यय सार्वजनिक गरिएको छ । वैशाख १३ देखि १९ गतेसम्म सञ्चालन भएको मेलाबाट १५ लाख ८५ हजार ६ सय ६३ रुपैयाँ सङ्कलन भएको आयोजकले जनाएको छ ।
शनिबार नाविस्थानमा आयोजित पत्रकार सम्मेलनमा पञ्चकोशी क्षेत्र विकास संस्थाले मेलाको आयव्यय विवरण सार्वजनिक गर्दै स्वैच्छिक सहयोगमार्फत उक्त रकम सङ्कलन भएको जानकारी दिएको हो । संस्थाका कोषाध्यक्ष गगनबहादुर खड्काका अनुसार ३६६ जना दाताबाट बैङ्कमार्फत ७ लाख ७८ हजार ३१ रुपैयाँ प्राप्त भएको छ भने मेलास्थलमै नगद ८ लाख ७ हजार ६ सय ३२ रुपैयाँ सङ्कलन गरिएको थियो । उहाँले विभिन्न व्यक्तिले कबोल गरेको १ लाख ५८ हजार ९ सय ५८ रुपैयाँ भने अझै उठ्न बाँकी रहेको बताउनुभयो । आयोजकका अनुसार हालसम्म मेलाको व्यवस्थापन, प्रचारप्रसार तथा अन्य शीर्षकमा १५ लाख ७३ हजार ४ सय ९२ रुपैयाँ खर्च भइसकेको छ ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै पञ्चकोशी क्षेत्र विकास संस्थाका अध्यक्ष नवीनकुमार योगीले सीमित स्रोतसाधनका बीच पनि मेला सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले स्थानीयवासी, दाता, स्वयंसेवक तथा विभिन्न निकायको सहयोगले मेला व्यवस्थित रूपमा सञ्चालन गर्न सम्भव भएको उल्लेख गर्नुभयो ।
उहाँले यद्यपि, सडक तथा यातायातको असहज पहुँचका कारण सञ्चारकर्मीहरूको सहभागिता अपेक्षाअनुसार हुन नसकेको र प्रचारप्रसार प्रभावकारी बनाउन चुनौती रहेको बताउनुभयो ।
दुल्लु नगरपालिका–१० का वडा अध्यक्ष दीपेन्द्र पुरीले व्यवस्थापनका क्रममा केही समस्या देखिए पनि समग्रमा मेला उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँले धार्मिक पर्यटन मेलाले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसार प्रसार हुने, पर्यटकहरुको आगमनमा महत्वपूर्ण सघाउ पु¥याउने बताउनुभयो ।








