२०८३ जेठ १९ , मंगलबार

सेवा प्रवाह गुनासोरहित बनाउन सरोकारवालाको जोड



 

दैलेख ।दैलेखका सरोकारवालाले जिल्लास्थित सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र गुनासोरहित बनाउनुपर्नेमा जोड दिएका छन् ।राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार काठमाडौंको आयोजनामा जिल्ला समन्वय समिति दैलेखको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरूले सेवाग्राहीमैत्री, प्रविधिमैत्री तथा उत्तरदायी सेवा प्रवाह आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै आठबिस नगरपालिका प्रमुख तर्कबहादुर बडुवालले नागरिकको अपेक्षाअनुसार सेवा दिन सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले सरकारका नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा सबै पक्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।उहाँले स्थानीय तहमा काम गर्दा जनशक्ति अभाव, स्रोत–साधनको कमी तथा व्यवहारिक कठिनाइ रहेको गुनासो गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।उहाँले कतिपय कार्यक्रम कार्यान्वयनमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय अभाव देखिएको उल्लेख गर्दै उहाँले त्यसलाई सुधार गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जनमैत्री बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले बताउनुभयो । उहाँले कानुन र सुशासनलाई व्यवहारमा उतार्न राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिको व्यवहारमा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो ।उहाँले सरकारी कार्यालयहरूले सेवा प्रवाहलाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउन सुधारात्मक ढंगले काम गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक निकायमा हुने अनियमितता न्यूनीकरण, सुशासन प्रवद्र्धन तथा सेवाग्राहीमैत्री वातावरण निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने जनाएको छ ।
कार्यक्रममा विभिन्न कार्यालयहरूको अनुगमनका क्रममा देखिएका अवस्था, सेवा प्रवाहमा सुधार गर्नुपर्ने विषय तथा सुशासन प्रवद्र्धनका उपायबारे छलफल गरिएको थियो । सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र सदाचार कायम गर्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने विषयमा समेत जोड दिइएको थियो ।कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार
प्रतिक्रिया