
दैलेख, जेठ ४ गते । दैलेख प्रहरीले एक महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने ३ सय ९८ सवारी साधनलाई कारबाही गरेको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गरेको २०८३ वैशाख महिनाको प्रगति विवरणअनुसार ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी कारबाहीमा परेका हुन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख तथा प्रहरी नायव उपरीक्षक डिएसपी गणेश बहादुर बरालले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन कारबाहीमा परेको बताउनुभएको छ । उहाँले यात्रु, चालक तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर नियमित रूपमा विशेष चेकिङ अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
यस्तै वैशाख महिनामा जिल्लाभर ३१ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । ती मुद्दासँग सम्बन्धित २३ जना प्रतिवादी पक्राउ परेका प्रहरीले जनाएको छ । दर्ता भएका मुद्दामा जबर्जस्ती करणी, आत्महत्या, हातहतियार, बहुविवाह, ज्यान मार्ने उद्योग, लागूऔषध, अभद्र व्यवहार तथा बैङ्किङ कसुरलगायत रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित क्षेत्रमा घरेलु हिंसाका १८ तथा सामाजिक हिंसाका १७ वटा उजुरी परेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ । घरेलु हिंसाका उजुरीमध्ये ७ वटा मिलापत्र गरिएको र एउटा मुद्दा कानुनी प्रक्रियामा पठाइएको जानकारी दिइएको छ ।प्रहरीका अनुसार वैशाख महिनामा मात्रै ७ महिला, २ पुरुष र ८ बालबालिका हराएको निवेदन परेको छ ।
बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका क्रममा एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै, वैशाख महिनामा जिल्लाभित्र ८ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
सवारी दुर्घटनाका घटनामा पनि वृद्धि देखिएको प्रहरीले जनाएको छ । एक महिनामा ९ वटा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । साँघुरा सडक र तीव्र गतिका कारण दुर्घटना बढेको प्रहरीको विश्लेषण छ ।
यस अवधिमा प्रहरीले २ थान हातहतियार बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकाय का अनुसार जिल्लामा आगलागी, चट्याङ र हावाहुरीका ८ वटा घटना समेत घटेका छन् । प्रहरीले जिल्लामा ४ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ ।







