
दैलेख, जेठ ५ गते ।दैलेख र कालिकोट जिल्लाका स्थानीय तहहरूले सीमावर्ती महाबुधाम क्षेत्रको विकास, सुरक्षा व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै साझा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । समुद्री सतहदेखि ४ हजार १ सय ६८ मिटर उचाइमा रहेको महाबु लेक क्षेत्रमा आयोजित अन्तरजिल्ला तथा अन्तरपालिका स्तरीय समन्वय बैठकले सडक पूर्वाधार विस्तार, जडीबुटी तथा खनिज पदार्थको संरक्षण, सुरक्षा समन्वय र धार्मिक पर्यटन विकासका विषयलाई प्राथमिकतामा राख्दै संयुक्त कार्ययोजना अघि बढाउने निर्णय गरेको हो ।
बैठकले दैलेखको महाबु हुँदै कालिकोटको महावै गाउँपालिका र जुम्लासम्म जोडिने सडकको स्तरउन्नतिका लागि संघ तथा प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेको छ । सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने, अवैध रूपमा निकासी हुने जडीबुटी तथा खनिज पदार्थ नियन्त्रण गर्ने र वन क्षेत्रको उपयोगमा देखिने विवाद न्यूनीकरण गर्न संयुक्त संयन्त्र निर्माण गर्ने विषयमा पनि सहमति भएको छ ।
महाबुधाम क्षेत्रको दीर्घकालीन विकासका लागि सहभागी ६ वटै स्थानीय तहले सह–लगानीमा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी आगामी आर्थिक वर्ष २०८३र०८४ को योजनामा समावेश गर्ने समझदारी गरेका छन् ।
नारायण नगरपालिका–६ का वडाध्यक्ष जनकप्रसाद न्यौपानेका अनुसार महाबु क्षेत्रलाई कर्णाली प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारहरूबीच संयुक्त लगानी, पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनमा साझा अवधारणा तयार गरिएको छ । उहाँले महाबु क्षेत्रलाई कर्णाली प्रदेशकै एक प्रमुख धार्मिक पर्यटकीय हबका रूपमा विकास गर्न छलफल गरिएको बताउनुभयो ।
नारायण नगरपालिकाका प्रमुख लोमन शर्माको अध्यक्षतामा तथा कर्णाली प्रदेश सभाकी उपसभामुख यशोदा न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आगामी दिनमा संघीय तथा प्रदेश तहका सांसदहरूको सहभागितासहित यस्ता समन्वयात्मक बैठकलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।
बैठकमा दैलेखका नारायण नगरपालिका, महाबु गाउँपालिका र नौमुले गाउँपालिका तथा कालिकोटका महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दुवै जिल्लाका प्रशासनिक निकायका प्रतिनिधिहरू पनि सहभागी थिए ।







