२०८३ जेठ १९ , मंगलबार

सीपसँगै आत्मविश्वास बढाउँदै महेन्द्र मावि



 

दैलेख ।महेन्द्र माध्यमिक विद्यालय ले प्रि–डिप्लोमा तहमा अध्ययनरत प्रशिक्षार्थीहरूलाई लक्षित गर्दै एकदिने पेशागत अभिप्रेरणा (मोटिभेसन) तालिम सञ्चालन गरेको छ । नारायण नगरपालिका–५ भैसिखोरस्थित विद्यालयमा सञ्चालित २४ महिने प्रि–डिप्लोमा तह अन्तर्गत अध्ययनरत ५२ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
सिभिल इन्जिनियरिङ (भवन निर्माण) विषय अध्ययन गरिरहेका प्रशिक्षार्थीहरूलाई प्राविधिक शिक्षाको महत्व, श्रम बजारमा उपलब्ध अवसर, सीपको उपयोगिता तथा राज्यले गरेको लगानीको औचित्यबारे जानकारी गराउँदै उनीहरूलाई आत्मनिर्भर र रोजगारीमुखी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

“पढ्दै पनि कमाउँदै पनि” भन्ने अवधारणासहित सञ्चालन गरिएको कार्यक्रममा सीप सिकेर स्वदेशमै सम्मानजनक रोजगारी र आत्मनिर्भरताको बाटो तय गर्न सकिने विषयमा जोड दिइएको थियो ।
औद्योगिक प्रशिक्षार्थी तालिम अन्तर्गत विद्यार्थीहरूले पूर्ण रूपमा निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था रहेको छ । साथै विद्यालय तथा उद्योगमा उपस्थित भएका दिनका आधारमा दैनिक एक सय रुपैयाँ यातायात खर्च, पोशाक खर्च, दुर्घटना बीमा तथा निर्माण कम्पनीमा व्यावहारिक सीप सिक्ने क्रममा पकेट खर्चसमेत प्राप्त गर्दै आएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कुमार प्याकुरेलले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउँदै सीपयुक्त जनशक्तिले मात्रै मुलुकको विकास सम्भव हुने धारणा राख्नुभयो ।

त्यस्तै जनक शर्माले निर्माण क्षेत्रमा दक्ष जनशक्तिको उच्च माग रहेको उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई व्यवहारिक ज्ञान र अनुशासनमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा हृदेश कुमार केसी , रतन बहादुर बिकले सीपमूलक शिक्षाले युवाहरूलाई सामाजिक तथा आर्थिक रूपमा सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश को समन्वय तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन गरिएको हो ।
टिभेट प्रणालीमार्फत युवा महिला तथा पुरुषलाई सीप, रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यका साथ कर्णाली प्रदेशमा यस्ता विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार
प्रतिक्रिया