२०८३ जेठ १९ , मंगलबार

भुक्तानी रोकिँदा अलपत्र बन्दै नाभिस्थान पुल



दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ र दुल्लु नगरपालिका–१० जोड्ने नाभिस्थान खोलामा निर्माणाधीन पुलको भुक्तानी प्रक्रिया समयमै नहुँदा तोकिएको अवधिमा काम सम्पन्न हुन सकेको छैन । करिब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको पुल वर्षायामअघि सञ्चालनमा आउने स्थानीयवासीको अपेक्षा अधुरै हुने देखिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा चार करोड ५६ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको पुलको जिम्मा पुष्पाञ्जली–बडीमालिका एमएम जेभीले पाएको थियो । पुल निर्माणका लागि २०८० चैत २५ गते ठेक्का सम्झौता गरिएको थियो । सङ्घीय सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका योजना स्थानीय तहमार्फत सञ्चालन गर्ने नीति लागू गरेपछि पुल निर्माणका लागि ४० लाख रुपैयाँ बजेट दुल्लु नगरपालिकामा पठाइएको थियो । तर, सङ्घीय संरचनाअनुसार उक्त बजेट स्थानीय तहमार्फत भुक्तानी गर्न नमिल्ने भएपछि रकम पुनः सङ्घीय सरकारमै फिर्ता पठाइएको थियो ।

निर्माण कम्पनीले अधिकांश काम सम्पन्न गरिसके पनि भुक्तानी प्रक्रियामा देखिएको जटिलताका कारण अन्तिम चरणमा आएर निर्माण रोकिएको कम्पनीका सञ्चालक टोपबहादुर महतराले बताउनुभयो । उहाँका अनुसार पुलको करिब १० प्रतिशत काम मात्रै बाँकी रहेको छ । ठेक्का सम्झौताअनुसार अझै ४० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेकाले काम प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार
प्रतिक्रिया