२०८३ जेठ १९ , मंगलबार

आन्तरिक पर्यटको गन्तव्य बन्दै भ्यूटावर



यामराज बिष्ट
दैलेख। दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँसे क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुराँसेमा पुग्ने यात्रुहरू केही समय रोकिएर मनोरम दृश्यको आनन्द लिनुका साथै तस्बिर तथा भिडियो खिच्ने गरेका छन् ।पछिल्लो समयमा गुराँस गाउँपालिका–५रानिमत्तामा निर्माण गरिएको भ्यूटावरले यहाँको आकर्षण अझ बढाएको छ । अग्लो डाँडामाथि बनेको भ्यूटावरबाट वरपरका हरियाली जंगल, डाँडाकाँडा तथा हिमश्रृंखलाको दृश्य अवलोकन गर्न सकिन्छ । गुराँसका रुख, ढकमक्क फुलेका फूल तथा डाँफेलगायत चराका आकृतिले क्षेत्रको सौन्दर्य थप मनमोहक बनेको छ । विशेषगरी वसन्त याममा गुराँसका फूल फुल्ने समय गुराँसे पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्ने गरेको छ । सडक यात्रा गर्ने धेरै यात्रु यहाँ केही समय विश्राम गर्दै प्राकृतिक दृश्यावलोकन गर्ने, सामाजिक सञ्जालका लागि तस्बिर खिच्ने तथा टिकटक भिडियो बनाउने गरेका छन् ।
पछिल्लो समय निर्माण गरिएको भ्यूटावरले गुराँसेलाई थप चर्चित बनाएको डुवेश्वर गाँउपालिका–६का स्थानिय हेमन्ता कुमारी बिशीले बताउनुभयो । उहाँले चिसो मौसम, शान्त वातावरण र हरियाली जंगलका कारण यात्रुहरू यहाँ आकर्षित हुने गरेको बताउनुभयो ।
गुराँसे क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न पूर्वाधार निर्माण गरिएको गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिशीले बताउनुभयो । उहाँले प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले आवश्यक संरचना निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।उहाँले भ्यूटावर निर्माणपछि गुराँसे आउने पर्यटकको संख्या निरन्तर बढ्दै गएको बताउनुभयो ।उहाँले भ्यूटावरलाई थप ब्यवस्थीत गर्न भनेजस्तो स्थानिय सरकारलाई वन तथा पर्यटन मन्त्रालयले अधिकार नदिएको गुनासो गर्नुभयो ।

अध्यक्ष बिशीले भन्नुभयो “गुराँसे प्राकृतिक रूपमा अत्यन्त सुन्दर क्षेत्र हो । यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्न भ्यूटावर निर्माणले सहयोग भएको छ “अब यस क्षेत्रलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ ।”
पछिल्लो समय गुराँसेमा घुम्न आउने यात्रुको संख्या बढेसँगै होटल तथा साना व्यवसायमा समेत सकारात्मक प्रभाव परेको सरस्रवती सामुदायिक वन उपधोक्ता समितीका कर्मचारी लिला कुमारी बुढाले बताउनुभयो। उहाँले चैत र बैशाख महिना१लाख५०बढी आम्दानी हुने गरेको बताउनुभयो । उहाँले२०८१सालमा भ्यूटावर हेर्नका लागी १४हजार७सय९७जना २०८२सालमा१७हजार८सय१० पर्यटक आएको तथ्याङ्क रहेको बताउनुभयो । उहाँले सडक पहुँच विस्तार, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र आन्तरिक पर्यटन वृद्धिका कारण पर्यटक आगमन निरन्तर बढिरहेको बताउनुभयो ।उहाँले आव२०८१सालमा७लाख३९हजार८सय७५ रुपियाँ आम्दानी भएको बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी र आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
प्राकृतिक सौन्दर्य, शान्त वातावरण र चिसो हावापानीका कारण गुराँसे अहिले दैलेख–सुर्खेत यात्रा गर्नेहरूको लोकप्रिय विश्रामस्थल बन्दै गएको छ । स्थानीय तहको पहलमा थप पूर्वाधार विकास हुन सके गुराँसे कर्णालीकै महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ । भ्यूटावर हेर्नका लागी सुर्खेत, नेपालगञ्ंज,बर्दिया, दैलेख,जाजरकोट, आउने गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार
प्रतिक्रिया