२०८३ जेठ १९ , मंगलबार

दैलेखका सात पालिका पूर्ण खोप सुनिश्चित घोषणा



 

यामराज बिष्ट
दैलेख ।दैलेख जिल्लाका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्लाका ११ स्थानीय तहमध्ये आवश्यक सूचक तथा मापदण्ड पूरा गरेका सात पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्लाका नारायण नगरपालिका, नौमूले गाउँपालिका, दुल्लु नगरपालिका, डुंगेश्वर गाउँपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र गुराँस गाउँपालिका लाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै सूचक पूरा भएपछि जिल्लाका सात पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताउनुभयो । उहाँले नियमित खोप कार्यक्रम मार्फत बालबालिकाले उमेरअनुसार लगाउनुपर्ने सबै खोप पाएपछि मात्र यस्तो घोषणा गर्ने मापदण्ड रहेको बताउनुभयो ।
उहाँले पूर्ण खोप सुनिश्चितता घोषणा अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि तथा अभिभावकहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले बालबालिकालाई विभिन्न संक्रामक तथा जटिल रोगबाट जोगाउन खोप अत्यन्त प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुनेमा जोड दिनुभयो ।
खोप अधिकृत रेग्मीले भन्नुभयो “खोप कार्यक्रम केवल घोषणा गरेर सम्पन्न हुने विषय नभई यसको दिगोपना अझ महत्वपूर्ण पक्ष हो । बालबालिका जन्मिएसँगै नियमित खोप कार्यक्रममा जोडिने भएकाले पूर्ण खोप सुनिश्चितता निरन्तर चलिरहने प्रक्रिया हो ।”
स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिने व्यवस्था रहेको छ । यसका लागि स्थानीय तहहरूले नियमित रूपमा घरधुरी विवरण संकलन, छुटेका बालबालिकाको खोजी तथा अनुगमनसमेत गर्दै आएका छन् ।

जिल्लामा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएकाले पछिल्लो समय बालबालिकामा देखिने विभिन्न रोगको जोखिमसमेत घट्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । ग्रामीण तथा दुर्गम क्षेत्रसम्म खोप सेवा विस्तार गरिएकाले अधिकांश बालबालिका खोपको पहुँचमा पुगेका छन् ।

दैलेख जिल्लालाई २०७४ साल असार ४ गते तत्कालीन मध्यपश्चिम विकास क्षेत्रकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसयता जिल्लामा पूर्ण खोप सुनिश्चितताको अवस्थालाई दिगो बनाउन स्थानीय तह र स्वास्थ्य संस्थाहरूले निरन्तर अभियान सञ्चालन गर्दै आएका छन् । दैलेख जिल्लामा असार सम्म सबै पालिकामा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ९ गते शनिबार
प्रतिक्रिया