२०८३ जेठ १९ , मंगलबार

नगरपालिकाबाटै स्थायी लेखा नम्बर



 

दैलेख । दैलेखको नारायण नगरपालिकाबाटै स्थायी लेखा नम्बर (प्यान) वितरण सेवा सुरु भएको छ । यसअघि आन्तरिक राजस्व कार्यालय सुर्खेत बाट प्रदान हुँदै आएको व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बरको सेवा अब नगरपालिकाबाटै उपलब्ध हुन थालेपछि नागरिकलाई सहज भएको हो ।
नारायण नगरपालिका मार्फत व्यक्तिगत प्यान तथा व्यापार प्यान वितरण सुरु गरिएको आन्तरिक राजस्व कार्यालयका सूचना प्रविधि निर्देशक पदम बहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले नेपाल सरकारको निर्णयअनुसार नगरपालिकामा कर कार्यालय स्थापना तथा सेवा विस्तारको प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइँउदै जाने बताउनुभयो । उहाँले पहिलो चरणमा नारायण नगरपालिकाबाट सेवा सुरु गरिएको र दोस्रो चरणमा आठबीस नगरपालिकामा सेवा विस्तार गर्ने योजना रहेकोे बताउनुभयो ।

उहाँले स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई समय, खर्च र झन्झट कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “अब नागरिकले सामान्य करसम्बन्धी सेवाका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था हट्दै गएको छ ।,,

त्यस्तै आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चव्रmप्रसाद ढुङ्गानाले स्थानीय तहबाट पहिलो पटक सेवा सञ्चालन हुन थालेकोमा खुसी व्यक्त गर्दै कर चुक्तालगायतका अधिकांश सेवा अहिले अनलाइनमार्फत उपलब्ध भइरहेको बताउनुभयो । उहाँले व्यक्तिगत तथा व्यावसायिक लेखा नम्बरसम्बन्धी सेवा सबैस्थानीय तहमा विस्तार गरिएसँगै सेवाग्राहीलाई मोबाइललगायत प्रविधिमार्फत सेवा लिन सकिने विषयमा अवगत गराउन डिजिटल शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आन्दह सारूमगरले जिल्लामै यस्तो सेवा उपलब्ध हुँदा प्रशासनिक सङ्घीयतालाई थप बलियो बनाउने बताउनुभयो । उहाँले कर प्रशासनलाई विकेन्द्रीकरण गर्दै स्थानीय तहलाई सक्षम र आत्मनिर्भर बनाउन यस्तो कार्यव्रmमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयोे । सूचना प्रविधिमा लगानीबढाउनुपर्ने आवश्यकता औँल्याउँदै व्यवस्थित डाटा तथा डिजिटल प्रणाली विकास गर्न सके छिटो, सहज र पारदर्शी तरिकाले नागरिकले सेवा पाउँने उहाँको भनाइ थियो ।

 

नगरपालिकाबाटै स्थायी लेखा नम्बर वितरण भएपछि सेवाग्राहीलाई अब सुर्खेत धाउनुपर्ने बाध्यता हटेको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताउनुभयो ।उहाँले नागरिकलाई पालिकाबाटै प्यान सेवा सुरु भएपछि नागरिकलाई ठूलो राहत मिलेको बताउनुभयो । उहाँले यसअघि सामान्य कामका लागि समेत सुर्खेत जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब स्थानीयस्तरमै सेवा पाउँदा नागरिकको समय र खर्च दुवै बचत हुने बताउनुभयो ।

नगर प्रमुख शर्माले स्थानीय तहबाट करसम्बन्धी सेवा विस्तार हुँदा राज्यको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा सेवालाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार
प्रतिक्रिया