
दैलेख। दैलेखको नारायण नगरपालिकामा महिलाको आर्थिक उन्नतिका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यसहित परियोजना शुभारम्भ गरिएको छ ।प्रो पब्लिक “जनहित संरक्षण मञ्च” संस्थाको आयोजना तथा नारायण नगरपालिकाको समन्वयमा उक्त परियोजना सञ्चालनमा ल्याइएको हो ।
महिलाहरूलाई आर्थिक क्षेत्रसँग जोड्ने, उनीहरूको पहुँच विस्तार गर्ने तथा हक–अधिकारबारे सचेत बनाउने परियोजनाको मुख्य उद्देश्य रहेको परियोजना अधिकृत कमला रानाले बताउनुभयो । उहाँले महिलाहरू पनि आर्थिक रूपमा सक्रिय, सक्षम र आत्मनिर्भर बन्न सक्छन् भन्ने आत्मविश्वास बढाउन परियोजनाले विशेष भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिका उपप्रमुख तप्ता थापाले आर्थिक सशक्तीकरणका लागि सीप विकास, स्वरोजगार तथा आयआर्जनका गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले यस्तो खाले कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिने बताउनुभयो । उहाँले महिलालाई आत्मनिर्भर बनाउन स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
नारायण नगरपालिका दैलेखमा आयोजित उक्त कार्यक्रममार्फत महिलाको आर्थिक अवस्था सुधार, नेतृत्व विकास तथा समुदायस्तरमा सकारात्मक वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।परियोजनाले विशेषगरी आर्थिक रूपमा पछाडि परेका महिलालाई लक्षित गर्दै उनीहरूको क्षमता अभिवृद्धि, सहभागिता वृद्धि र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य लिएको बताइएको छ ।
“संवादमार्फत महिलाको आर्थिक उन्नतिका निम्ति अनुकूल वातावरणको सृजना परियोजना” अन्तर्गत आयोजना गरिएको शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूह, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।







