२०८३ भदौ २८ , आइतबार

रास्वपा भैरबी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, गोविन्द रिजाल सभापतिमा निर्विरोध चयन



 

दैलेख, १५जेठ गते  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भैरबी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गोविन्द प्रसाद रिजाल गाउँपालिका सभापतिमा निर्विरोध चयन हुनुभएको छ ।
निर्वाचित भएपछि सभापति रिजालले पार्टीलाई अझ सशक्त बनाउँदै भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफूलाई विश्वास गरेर निर्विरोध चयन गर्ने नेता तथा कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
अधिवेशनबाट राजेश कंडेल सचिवमा निर्वाचित हुनुभएको छ भने सहसचिवमा गणेश बि.क. र उपसभापतिमा गजेन्द्र रिजाल चयन हुनुभएको छ । पार्टीभित्र सबै पक्षलाई समेट्दै सहमतिमा नेतृत्व चयन गरिएकोले संगठन थप बलियो बन्ने विश्वास गरिएको छ ।
त्यसैगरी, अधिवेशनले पदाधिकारीसहित १३ सदस्यीय गाउँपालिका समिति गठन गरेको जनाएको छ । नवनिर्वाचित समितिले पार्टी संगठनलाई गाउँस्तरसम्म सुदृढ बनाउँदै जनताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

अधिवेशनमा केन्द्रीय नेता सुशील अधिकारी, प्रदेश सभापति मदन खडका, सहमहामन्त्री अबिसरा सुवेदी, जिल्ला सभापति मित्रराज प्याकुरेल, जिल्ला सचिव प्रकाश कुमार बुढा, प्रदेश कमिटी सदस्य कृष्ण बिमल खडका तथा नेता एन. के. बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
भैरबी गाउँपालिका अधिवेशन सामूहिक सहभागिता र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै शुभेच्छुकहरूले खुसी व्यक्त गरेका छन् । साथै, पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय नागरिकले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार
प्रतिक्रिया