
दैलेख। दैलेख जिल्लामा कान तथा अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वय तथा गोर्खा वेलफेयर टुरिसको आयोजनामा सञ्चालित कान तथा अपाङ्गता शिविरमा करिब५सय५८ जनाले स्वास्थ्य सेवा लिएको जनाएको छ ।
शिविरमा कान, तथा अपाङ्गतासम्बन्धी समस्या भएका बिरामीलाई विशेषज्ञ चिकित्सकमार्फत अप्रेसन,परीक्षण, परामर्श, उपचार तथा आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । शिविरमा जिल्लाका ११ स्थानीय तहबाट आएका सर्वसाधारणले सेवा लिएका थिए ।
ग्रामीण क्षेत्रमा अझै पनि विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पहुँचमा पुग्न नसकेको अवस्थामा यस्ता शिविर प्रभावकारी बनेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले बताउनुभयो । उहाँले शिविरमार्फत आर्थिक अवस्था कमजोर भएका तथा दुर्गम बस्तीका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गरी थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
डाक्टर विश्वकर्माका भनुभयो “कान तथा अपाङ्गतासम्बन्धी समस्या भएका धेरै नागरिक नियमित उपचारको पहुँचभन्दा बाहिर छन्,। यस्ता शिविरले उनीहरूलाई जिल्ला भित्रै विशेषज्ञ सेवा उपलब्ध गराउन सहयोग पुगेको छ ।”
शिविरमा सहभागी भएका स्थानीय बखत बुढनले जिल्लामै विशेषज्ञ सेवा पाउँदा आफूहरूलाई ठूलो राहत मिलेको बताउनुभयो । उहाँले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम भएको उल्लेख गर्दै शिविरले समय र आर्थिक खर्च दुवै बचत भएको प्रतिक्रिया दिनुभयो ।
आयोजकका अनुसार शिविरको लागी करिब१८सय जना भन्दा बढीले नाम दर्ता गराएका थिए । तीमध्ये पाँच सय ५८जनाले सेवा प्राप्त गरेका छन् । पुनःस्थापना सेवाअन्तर्गत कृत्रिम अङ्ग मापन सेवा समेत प्रदान गरिएको थियो । शिविरकै क्रममा ६६ जनाको कानसम्बन्धी शल्यक्रिया समेत गरिएको थियो । शिविरका क्रममा एक सय ९३ जनालाई श्रवण यन्त्र (हियरिङ एड) वितरण गरिएको छ भने ९५ जनालाई अपाङ्गता सहयोग सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । थप जटिल स्वास्थ्य समस्या भएका ११ जनालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका दुर्गम क्षेत्रमा अझै पनि कान तथा अपाङ्गतासम्बन्धी समस्या भएका धेरै नागरिक उपचारको पहुँचमा पुग्न सकेका छैनन् । विशेषज्ञ सेवा जिल्लास्तरमै उपलब्ध गराउँदा सर्वसाधारणलाई प्रत्यक्ष राहत मिल्ने भएकाले यस्ता कार्यक्रमलाई थप विस्तार गर्न आवश्यक रहेको स्थानीयवासीले बताएका छन् । शिविरमा कान तथा अपाङ्गता सम्बन्धी विभिन्न विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।







