
दैलेख । दैलेखमा बर्खायामको समयमा हुन सक्ने बाढी पहिरो डुबान ताथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नमुना अभ्यास गरिएको छ ।जिल्ला विपद् व्यवस्थापनको संयुक्त टोलीद्वारा डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा स्थित लोहरे खोला क्षेत्रमा विपद्को समयमा गर्नुपर्ने उद्धार,राहत, उपचार लगायतका क्रियाकलाप लगायत समन्वय तथा सहजीकरणलाई चुस्त र प्रभावकारी बनाउने उदेश्यले नमुना अभ्यास गरिएको हो ।
विपद्का समयमा अपनाउनुपर्ने खोज, उद्धार तथा सुरक्षा सम्बन्धी विभिन्न व्यवहारिक अभ्यास प्रदर्शन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष आनन्द सारुले बताउनुभयो । उहाँले बर्खायाम नजिकिँदै गएकाले जिल्लाभर विपद् जोखिम बढ्ने सम्भावना रहेकाले नमुना अभ्यास गरिएको बताउनुभयो । उहाँले विपद् आउनुअघि नै आवश्यक पूर्वतयारी गर्नु सबै निकायको दायित्व भएको उल्लेख गर्दै स्थानीय तहहरूलाई समेत विपद् व्यवस्थापन तयारीमा सक्रिय हुन आग्रह गर्नुभयो ।
उहाँले संयुक्त अभ्यासले विपद्का समयमा सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्न, शीघ्र उद्धार कार्य सञ्चालन गर्न तथा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जनचेतना अभिवृद्धिमा जोड दिनुभयो ।
नमुना अभ्यास कार्यक्रममा कालिदत्त गुल्मका सहायक सेनानी रवि लिम्बु, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विक सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक मात्रिका पौडेल लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । उक्त प्रदर्शनमा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि तालिम प्राप्त दक्ष जनशक्तिले बाढीको विपद्का बेला गरिने उद्धारको कृत्रिम अभ्यास लगायत क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने तत्कालीन उपायहरूबारे प्रदर्शन मार्फत सहभागीलाई जानकारी गराइएको थियो । कार्यक्रममा बाढी तथा प्राकृतिक विपद्का बेला हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण, डुबानमा परेकाको उद्धार, घाइतेको सुरक्षित व्यवस्थापन, आपत्कालीन समन्वय तथा राहत व्यवस्थापनका विषयमा अभ्यास गरिएको जनाइएको छ ।








