२०८३ कात्तिक १३ , बिहीबार

दक्ष जनशक्ति उत्पादनमा जोड



 

दैलेख। दैलेखमा उद्योग तथा व्यवसाय क्षेत्रको दिगो विकासका लागि दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजना तथा एनभिक्युएस परियोजनाको प्राविधिक सहयोगमा राष्ट्रिय दक्षता मापदण्ड (एनएसएस) अनुसार दक्ष जनशक्ति व्यवस्थापन सम्बन्धी सरोकारवाला उद्योगी–व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सीपयुक्त जनशक्ति अभाव भएकाले जनशक्ति उत्पादन तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

देशको आर्थिक विकास र उत्पादन वृद्धिका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको एनभिक्युएस परियोजनाका प्रदेश प्रबन्धक जनक सुवर्णकारले बताउनुभयो। उहाँले रोजगारदाताले दक्ष जनशक्तिको पहिचान, उपयोग तथा प्रोत्साहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय दक्षता मापदण्डले श्रमिकको सीपलाई औपचारिक मान्यता प्रदान गर्ने बताउनुभयो। श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सके बेरोजगारी न्यूनीकरण हुनुका साथै उद्योग–व्यवसायको उत्पादकत्व वृद्धि हुने उहाँले बताउनुभयो ।

यस्ता खाले कार्यक्रमले दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्रबहादुर थापाले विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारी तथा निजी क्षेत्रमा सूचना प्रविधिसहित विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै उपलब्ध जनशक्तिलाई थप दक्ष बनाउने चुनौती रहेको बताउनुभयो।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले सीपमूलक व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले दक्ष जनशक्ति विकासले स्वरोजगार र उद्यमशीलता प्रवद्र्धन गर्दै आर्थिक आत्मनिर्भरताको आधार तयार गर्ने बताउनुभयो। सीप हासिल गरेपछि व्यवसाय सञ्चालन सहज हुनुका साथै प्रतिस्पर्धात्मक क्षमता पनि वृद्धि हुने बताउनुभयो । उहाँले व्यवसायीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै सम्बन्धित निकायबाट प्राप्त हुने सहयोग, सीप विकासका अवसर आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उद्योग तथा व्यवसायको आवश्यकताअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै उत्पादन र सेवाको गुणस्तरमा सुधार आउने स्थानीय व्यवसायी नरेन्द्रराज अधिकारीले बताउनुभयो । उहाँले स्थानीय तह, निजी क्षेत्र र तालिम प्रदायक संस्थाबीच प्रभावकारी समन्वय गरी बजारको मागअनुसार सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

सहभागीहरूले दक्ष जनशक्तिको अभाव उद्योग तथा व्यवसाय सञ्चालनको प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सीप विकास, सीप परीक्षण तथा प्रमाणीकरण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रममा राष्ट्रिय दक्षता मापदण्डको कार्यान्वयन, श्रमिकको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकता तथा रोजगारदाताको भूमिकाका विषयमा विस्तृत छलफल गरिएको थियो।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार
प्रतिक्रिया