दैलेख, जेठ १८गते । दैलेखको भैरवी गाउँपालिका–५ कालगौडामा सोमबार यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१००१ च ४९६४ नम्बरको डबल क्याप जिप सोमबार बिहान करिब १२ः५५ बजे कालगौडास्थित सडकबाट करिब ३०० देखि ४०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिपमा सवार आठ जनामध्ये एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका पाँच जनालाई सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याइएको छ।
मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भए पनि तीव्र गतिका कारण ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।







