
दैलेख । दैलेख जिल्लामा लामो समयदेखि विद्युत् महसुल बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ ।नेपाल विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्र दैलेखका अनुसार बक्यौता असुली अभियान अन्तर्गत लाइन काटिएको ६ महिना पूरा हुँदा समेत महसुल भुक्तानी नगर्ने ग्राहकहरूको विवरण संकलन गरी कालोसूचीमा राख्ने तयारी गरिएको हो ।
वितरण केन्द्रका अनुसार बक्यौता रकम नतिरेपछि लाइन काटिएका ग्राहकले समेत लामो समयसम्म महसुल भुक्तानी नगरेपछि कालोसूचीमा राख्ने तयारी गरिएको हो । लाइन काटिएको ६ महिना पूरा हुँदा पनि रकम भुक्तानी नगर्ने ग्राहकहरूको विवरण संकलन गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको नेपाल विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्र दैलेखका कार्यालय प्रमुख टंकबहादुर गिरीले बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षमा हालसम्म१ सय ७५ग्राहकलाई कालोसूचीमा राख्ने तयारी भएको बताउनुभयो । उहाँले सम्बन्धित ग्राहकलाई सात दिनभित्र बाँकी बक्यौता रकम बुझाउन आग्रह गरिएको जानकारी दिनुभयो ।उहाँले तोकिएको अवधिभित्र रकम भुक्तानी नगरे प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले लामो समयदेखि महसुल तिर्न आनाकानी गर्ने तथा पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा नआउने ग्राहकविरुद्ध कडाइ गरिएको बताउनुभयो ।
कार्यालय प्रमुख गिरीले उहाँले भन्नुभयो “विद्युत् सेवा प्रयोग गरेर महसुल नतिर्ने प्रवृत्ति बढ्दै गएको छ, जसका कारण कार्यालयलाई आर्थिक व्यवस्थापनमा समस्या भएको छ, “त्यसैले बक्यौता असुलीलाई प्रभावकारी बनाउन कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो ।”
वितरण केन्द्रका अनुसार विद्युत् महसुल बक्यौता नतिने ग्राहकबाट मात्रै १ करोड १२ लाख ९ हजार ५ सय ६६ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालयले बक्यौता असुली अभियानलाई निरन्तर सञ्चालन गरिरहेको जनाएको छ । नियमित रूपमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने, सूचना जारी गर्ने तथा कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको कार्यालयको भनाइ छ ।
कार्यालयले सबै सेवाग्राहीलाई समयमै विद्युत् महसुल बुझाई कालोसूचीमा पर्नबाट जोगिन आग्रह गरेको छ ।साथै विद्युत् सेवा नियमित र प्रभावकारी बनाउन उपभोक्ताले पनि समयमै महसुल तिर्नुपर्नेमा जोड दिइएको छ । विद्युत् महसुल संकलन प्रभावकारी बनेमा सेवा विस्तार तथा मर्मतसम्भार कार्यलाई समेत सहज हुने प्राधिकरणले जनाएको छ ।







