
यामराज बिष्ट
दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका–३ सान्तडामा निर्माणाधीन १० शय्याको आधारभूत अस्पतालको निर्माण कार्य सुरु भएको छ । लामो समयदेखि स्रोत सुनिश्चितता अभावका कारण रोकिएको अस्पताल आवश्यक बजेट व्यवस्थापन भएपछि उक्त अस्पताल बनाउन सुरु गरिएको हो ।
स्थानीय नागरिकलाई गाउँपालिकामै गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल नेपाल सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको हो। अस्पताल भवन निर्माणका लागि १३ करोड १३ लाख ६१ हजार १९४ रुपैयाँ लागत ठेक्का गरिएको छ ।
नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनुभयो। उहाँले अस्पताल सञ्चालनमा आएपछि गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा दीर्घरोगीहरूलाई विशेष लाभ पुग्ने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृतले भन्नुभयो,“स्वास्थ्य सेवा प्राप्त गर्न घण्टौंको यात्रा गर्नुपर्ने बाध्यता अहिले पनि छ, । अस्पताल निर्माण सम्पन्न भएपछि स्थानीयवासीले आफ्नै गाउँपालिकामा उपचार सेवा पाउनेछन्। यसले समय, खर्च र जोखिम तीनै कुराको बचत गर्नेछ।”
उहाँले निर्माण कार्य मन्त्रालयले तोकेको मापदण्डअनुसार भइरहेको जानकारी दिँदै गुणस्तरीय निर्माणमा गाउँपालिकाले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो। निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग नियमित समन्वय भइरहेको उहाँको भनाइ छ।
गाउँपालिकाका अनुसार अस्पताल भवन निर्माणको जिम्मा कालिका रेगन–रेसुङ्गा जेभी, काठमाडौंले लिएको छ। सम्झौताअनुसार आगामी आर्थिक वर्ष २०८४वैशाखभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसअघि स्रोत सुनिश्चित नहुँदा अस्पताल करिब दुई वर्षसम्म निर्माण प्रक्रिया रोकिएको थियो। आवश्यक बजेट व्यवस्थापन र प्रक्रिया पूरा भएपछि अहिले निर्माण कार्यले पुनः गति लिएको गाउँपालिकाले जनाएको छ। हाल गाउँपालिकाका अधिकांश नागरिक सामान्यदेखि जटिल स्वास्थ्य समस्याको उपचारका लागि जिल्ला सदरमुकाम, सुर्खेत तथा नेपालगञ्जसम्म पुग्न बाध्य छन्। अस्पताल निर्माण सम्पन्न भएपछि गाउँपालिकाभित्रै प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।







