दैलेख। दैलेखमा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्। नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय छोरा यादव थापाको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार पारिवारिक विवादका क्रममा कविराज थापाले छोरा यादवमाथि हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट यादवको घाँटी, पाखुरा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
घाइते यादवलाई उपचारका लागि दैलेख अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिनुभयो। घटनामा संलग्न आरोपित कविराज थापालाई मंगलबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिनुभयो। मृतक यादव थापा नेपाली सेनाका सेवानिवृत्त कर्मचारी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।







